काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बेला यसबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग पनि कुरा भएको छ। नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुसँग देउवाले उपयुक्त समयमा भ्रमण गर्ने बताएका छन्।
तत्काल देउवाको भ्रमण नै अब नहुने भन्ने चर्चा चुलिइरहेका बेला शुक्रबार यो विषयमा लुसँग पनि कुरा भएको हो। भेटवार्तामा प्रधानमन्त्री देउवाले अनुकुल समयमा भ्रमण गर्ने बताए। ‘उक्त अवसरमा प्रधानमन्त्री (देउवा)ले उपयुक्त र अनुकुल समय मिलाएर भ्रमण गर्ने बताउनु भयो,’ प्रधानमन्त्रीको प्रेस प्रमुख गोविन्द परियारले भने,‘अनुकुल समयमा प्रधानमन्त्रीजीको अमेरिका भ्रमण हुन्छ ।
गृहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री देउवालाई गत वर्षको चैत २५ मा अमेरिका भ्रमणको निम्तो आएको थियो । तर दुवै पक्षलाई अनुकुल हुने गरि उपयुक्त समय खोजीमा नेपाल र अमेरिकी सरकार रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा दुवै पक्षबीच अनुकुल मितिबारे कुरा भइरहेको छ । दुवैलाई अनुकुल हुने मिति अहिलेसम्म तय भएको छैन,’ साउन ४ को नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनेकी थिइन् । त्यसअघि असार २० मा पनि प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण अपेक्षित भन्दै विभिन्न चरणमा गृहकार्य गर्नु पर्ने भएकोले मिति तय हुन समय लाग्ने बताएकी थिइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण सुरुमा असार अन्तिम साता हुने गरि गृहकार्य भएको थियो ।
तर दुवै मुलुक बीचमा अनुकुल हुने समय नमिल्दा भ्रमण धकेलिँदै गएको हो । परराष्ट्रका अधिकारीका अनुसार भ्रमण कहिले हुन्छ भन्ने विषयमा अझै पक्का भइसकेको छैन। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अघि नबढाउने भन्ने निर्णय असार ६ मा गरेको थियो । त्यस अघि संम्भव देखिएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण त्यसपछि क्रमिक रुपमा पछि सर्दै गएको हो । तर नेपालले साउन ९ मा अमेरिकालाई एसपीपी अस्वीकार गर्ने सम्बन्धमा पत्राचार गरिसकेपछि अब भ्रमण कहिले हुन्छ भन्ने बारेमा अझै गृहकार्य भइरहेको हो । सत्ता गठबन्धनको एक पार्टी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले त सार्वजनिक कार्यक्रममै एसपीपी अस्वीकार गर्ने भएपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका थिए।
तर गठबन्धनकै अर्का नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आन्तरिक राजनीतिक घटनाक्रमको कारण आफूहरुले प्रधानमन्त्री देउवालाई अहिले अमेरिका भ्रमण गर्न उपयुक्त समय नभएको सल्लाह दिएको बताएको दाबी गरेका थिए । साउन ४ कै पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता लम्सालले अगामि सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको ७७ औं महासभामा नेपालको तर्फबाट उच्च तहको सहभागिता हुने गरि गृहकार्य भएको बताएकी थिइन् । तर उनले प्रधानमन्त्री नै उक्त भ्रमणमा जाने वा नजाने भन्ने विषय भने मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइन् । जसलाई देउवाको संभावित र ‘उपयुक्त समय’ को अमेरिका भ्रमणको रुपमा पनि हेरिएको छ ।