डडेल्धुरा। सुदुरपश्चिमको डडेल्धुराबाट पनी अब नयाँ लाइसेन्स वितरण हुने भएको छ। डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरणकालागी आवश्यक तयारी तिब्र रुपमा अगाडी बढीरहेको जनाइएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि भदौ पहिलो साताभित्रै प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी रहेको छ। अब नयाँ लाइसेन्सका लागी जिल्ला बाहरि जानुपर्ने बाध्यता हट्ने बिश्वास लिइएको छ।
डडेल्धुरासहित बैतडी र दार्चुला जिल्लाका सेवाग्राहीका लागि २०७२ साल असार ३ गते तत्कालिन महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा स्थापना भएको थियो । उक्त कार्यालयले धनगढी र महेन्द्रनगरदेखि डडेल्धुरासम्म मात्रै रुट पाएका सवारी साधनको डडेल्धुराभन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएको थियो। २०७४ साल चैत १६ गते सेवा कार्यालयबाट स्तरोन्नति हुँदै यातायात व्यवस्था सेवा कार्यालय नामाकरण गरियो । उक्त कार्यालयले रुट परमिटसंगै नविकरण, सवारी दर्ता, नामसारी लगायतका सेवा दिन थालेको हो।
तर पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लाइसेन्स नविकरणका लागि धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यता भने कायमै थियो । सोही बाध्यताको अन्त्य गर्नका लागि २०७५ साल पुस १८ गतेबाट यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स नविकरणको काम पनि सुरु गरियो । यद्यपी डोटी र डडेल्धुराका कार्यालयसंग लाइसेन्स जारी गर्ने अधिकार भने थिएन ।सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुरा नामाकरणगरेको थियो। यातायात व्यवस्था कार्यालयमा स्तरोन्नति भएसंगै दुबै कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेका छन्।
यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायका अनुसार अहिले लाइसेन्स वितरणका लागि अनलाइन आवेदन खुल्ला छ भने साउन १७ र १८ गते आवेदकलाई कार्यालयमा उपस्थित हुन मिति तोकिएको छ ।‘कार्यालय उपस्थित भएपछि राजश्व बुझाएका आवेदकका लागि लिखित परीक्षा गरिने कार्यालय प्रमुख उपाध्यायले बताए । उनले भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात ट्राइल उद्धघाटन गर्ने तयारी रहेको बताए । ट्राइल उद्धघाटनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिमसंग पनि समन्वय गर्ने जनाएको छ। ‘प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरासंग आफ्नै ट्राइल सेन्टर नभएको यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख उपाध्यायले बताए । ‘त्यसका लागि कार्यालयले अमरगढी नगरपालिकामै रहेको उग्रतारा ड्राइभिङ सेन्टरको ट्राइल सेन्टर भाडामा लिएको छ ।’ यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराबाट अहिले मोटरसाइलक, स्कुटर, जिप र कारको लाइसेन्स मात्रै जारी हुने छ । डडेल्धुरा र डोटीका यातायात व्यवस्था कार्यालयले लाइसेन्स जारीको अधिकार पाएसंगै सात पहाडी जिल्लाका बासिन्दालाई सहज हुने विश्वास गरिएको छ ।