बैतडी। बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो । पदमार्ग बनेपछि धार्मिक पर्यटकलाई पाताल भूमेश्वरको गुफा र तलाउको दर्शन गर्न सजिलो भएको मन्दिरका संरक्षक जयराज विष्टले बताए ।
पदमार्ग निर्माणपछि दशरथचन्द मार्गको सिउँडेबाट १५ मिनेटमै पाताल भूमेश्वरको गुफा र तलाउ नजिक पुग्न सकिने विष्टले बताए ।यसअघि स्थानीय युवाको अगुवाइमा चन्दा सङ्कलन गरेर यहाँ प्रवेशद्वार निर्माण गरिएको सिद्धनाथ पाताल भूमेश्वर धार्मिक वन समितिका अध्यक्ष अरुण विष्टले बताए । बैतडीको वासुलिङ्ग र भूमेश्वरको सीमामा पर्ने जङ्गलको एक हजार दुई सय मिटर अग्लो डाँडोमा रहेको पाताल भूमेश्वर गुफासँगै कहिल्यै नसुक्ने स्थिर तलाउ यहाँको मुख्य आर्कषण हो । शिव पार्वतीको ‘मधुमास’ स्थल तथा द्वापरयुगमा पाण्डवहरू यहाँबाट स्वर्ग गएको धार्मिक किंवदन्ती रहेको छ ।
शिवरात्रिलगायत साउने सङ्क्रान्ति पर्वमा यहाँ विशेष पूजा लाग्ने गर्छ । पाताल भूमेश्वर गुफाको उत्तरतिर रहेको तलाउ र बीच भाग रहेको शिव मन्दिरमा विवाह गरेर सयौँ जोडी विधिवत् लगनगाँठोमा बाँधिने गरेका छन् । धार्मिक दृष्टिले पवित्र मानिएको पाताल भूमेश्वर गुफालाई स्थानीयवासीले परापूर्वकालदेखि पुज्दै आइरहेका छन् । पाताल भूमेश्वर गुफाका बारेमा अनुसन्धान गर्न सात वर्षअघि अन्तर्राष्ट्रिय गुफा विशेषज्ञ मोरिस दुसेनले आठ सय मिटरसम्म भित्र पसेर यो गुफा दक्षिण एसियाकै लामो हुन सक्ने दाबी गरेका थिए। अक्सिजन र अन्य उपकरणको अभावमा गुफाको आठ सय मिटरसम्म पुगेर उहाँ फर्किका थिए ।
‘इन्टरनेसनल सेन्टर फर दी एक्सप्लोरेसन अफ दी हिमालयज’का अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनको टोलीले गुफाको आठ सय मिटरसम्म भित्र पसेर नेपालकै लामो गुफा प्रमाणित गरेका थिए। यो गुफाका विषयमा सङ्घीय र प्रदेश सरकारले चासो देखाए पनि स्थानीय सरकारले भने उपेक्षा गरेको मन्दिरका संक्षक जयराज विष्टले बताए । काठमाडौँबाट एक घण्टाको हवाई यात्रापछि धनगढीबाट दुई सय किलोमिटर पक्की सडक पार गरेर बैतडीको पाताल भूमेश्वर गुफा पुग्न सकिन्छ । बैतडी सदरमुकाम जोड्ने दशरथचन्द लोक मार्गबाट १५ मिनेट पैदल दूरीमा रहेको पाताल भूमेश्वरमा पछिल्लो समय गुफाको दर्शन तथा अवलोकन गर्न भारतको उत्तराखण्ड राज्यबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् ।