बझाङ। बझाङमा मदिरा सेवन गरी जिपभित्र सुतेका एक जना पुरुष जिपमा मृत भेटिएका छन्। मादक पदार्थ सेवन गरी पुतलीलेक मोडमा जिपभित्र सुतेका बुंगल नगरपालिका-११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन्। बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिंडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्।
बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिंडेको र मृतक बोहराको घरनजिकै जिप रोकेर सुतेको प्रहरीले जनाएको छ।राति ९:३० बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।