डोटी। डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रका छाडा छौपायाको उद्धार गरी गौशालामा पठाएको छ । दिपायल सिलगढी नगरपालीकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउँपालिका– ६ दल्लेखको सहकार्यमा आज दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ ।
यहाँका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाईजम्मा गरी रेखदेख,पालन पोषण तथा स्याहारसुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगर प्रमुख बाजीसिंह खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “दुध दिन्जेल सम्म गाई घरमा राख्ने, दुध दिन छोडेपछि बजारमा छोड्ने यो प्रवृत्ति राम्रो भएन । अहिले हामीले छाडा छोडिएका गाई पालन पोषणका लागि गौशालामा पठाएका छौँ, अब छाडा रुपमा गाई छोड्नेलाई कारबाही गछौँ ।”
यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउँमा छाडा रुपमा छोडिएका गाई नगरपालिका तथा वडासँग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पुर्याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रह समेत गरेको छ । दिपायल क्षेत्रमा लामो समयदेखि छाडा छोडिएका चौपायाले यहाँका किसानले लगाएका बालीनाली खाएर हैरानी गरेका थिए ।