काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्नै पार्टीका व्यक्तिलाई शहीद मान्न अस्वीकार गरेको आरोप लगाएका छन्। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले विभिन्न आन्दोलनमा ज्यान गुमाएका आफ्नै पार्टीका कार्यकर्तालाई शहीद भन्न नसकेको बताएका हुन्। अध्यक्ष ओलीले भीमदत्त पन्तलगायतको नामै लिएर कांग्रेसकै कारण उनलाई शहीद घोषणा गर्न नसकिएको बताए ।
उनले भने, ‘भीमदत्त पन्तलाई कांग्रेसले शहीद मानेन । कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ग हुन्छ ।’ पन्तसहित पछिल्लो समय जानकारीमा आएका व्यक्तिहरुलाई शहीद घोषणाको तयारी भइसकेको अवस्थामा कांग्रेसकै कारण रोकिएको ओलीको भनाइ थियो । भीमदत्तमात्र नभई चिनियाँकाजी, दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि कांग्रेसले नसम्झिएको ओलीको भनाइ थियो । ‘दुर्गानन्द झाले कांग्रेस कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । तर, नेपाली कांग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन,’ उनले भने, ‘कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरुलाई फाँसीको सजाय सुनाइएको थियो कांग्रेसले त्यो कुरा गरेन ।
’आफ्नै आदरणीय नेताहरू मारिएको दिनमा कांग्रेसले एउटा विज्ञप्ति निकाल्नसमेत कन्जुस्याँइ गरेको उनको आरोप छ । उनले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । ‘जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्छ,’ उनले भने, ‘म इतिहासकारलाई अनुरोध गर्दछु, शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू ।’परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ । अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे ।