डोटी। डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिरोका जोखिममा परेका छन् । गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए ।
उनले भने, पोहर सालको बाढी पहिरोले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिरोले बस्ती च्यापिन्छ, साह्रै जोखिम भयो । विगतमा डोजर प्रयोग गरी धमाधम ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि अहिले पहिरोको जोखिममा रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।
उनले भने, गाउँगाउँमा सडक पुर्याउने नाममा जथाभावी सडक खनिँदा अहिले पहिरोले बस्ती नै जोखिममा परेका छन्, बस्ती कहाँ सार्ने गाह्रो भयो ।गाउँपालिकाको तथ्याकंअनुसार वडा नं ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा परेका छन् ।त्यस्तै वडा नं ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् ।
यति मात्र नभई यहाँका पहिरोका जोखिममा रहेका बस्तीमा सञ्चारका साधनले समेत काम नगर्ने गरेका कारण रातिको समयमा समस्या पर्दा तत्काल कहीँ कतै खबर गर्नसमेत नसकिने अवस्था रहेको वडा नं ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताए ।पहिरोको जोखिममा रहेका सायलका बस्तीहरुमा सञ्चार सम्पर्क सहजताका लागि फोनका टावरहरु निर्माण गर्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरोमा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए ।बाढी र पहिरोका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए भने ४१ घरहरुमा पूर्ण रुपमा क्षति भएको थियो । खेतीयोग्य जमिनसहित खेतीबाली बाढी पहिरोले पुरेको थियो ।