डडेल्धुरा। डडेल्धुरा अमरगढी ७ को एक विद्यालयमा भएको उत्पन्न विवाद साम्य भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरास्थित उग्रतारा माध्यमिक विद्यालयमा उत्पन्न तनाव पूर्ण अवस्था साम्य भएको हो। प्रधानाध्यापक चन्द्रबहादुर शाहु र विद्यालयमै कार्यरत एक शिक्षिकाबीचको अनैतिक सम्बन्ध तथा लेखापालमाथि प्रअले गरेको कुटपिटको विषयले विद्यालयमा तनाव पूर्ण अवस्था सिर्जना भएको थियो।शक्रबार शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेको थिए ।
लेखापाल ऐरले मदिरा सेवन गरी बिहीवार साँझ आफूलाई समेत गालीगलौज गर्नका साथै आफनो चरित्र हत्या गरेको आरोप प्रधानाध्यापक शाहुले लगाएका थिए । त्यसपछि शनिबार स्थानीयले विद्यालयमा तालाबन्दीसमेत गरेका थिए । आइतबार (हिजो)बिहानैदेखि विद्यालय परिसरमा तनाव पूर्ण अवस्था सिर्जना भएको थियो । यतिसम्मकी अवस्था सामान्य पार्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । उग्रतारा मावि पोखरामा आइतबार बिहानैदेखि स्थानीय अभिभावकहरू एकाएक भेला भएका थिए । अभिभावकहरु नारावाजी गर्दै विद्यालयका प्रधानाध्यापकको राजीनामा माग गरिरहेकै बेलामा स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। स्थानीयले आइतबार विद्यालय घेराउ गर्दै प्रधानाध्यापकको राजीनामा माग्दै विद्यालय प्रशासनमा ढुंगामुढा समेत गरेका थिए ।शिक्षाको ज्योती प्रदान गर्ने शिक्षक–शिक्षिकाको व्यवहारले आजित बनेका स्थानीयले विद्यालयका प्रधानाध्यापक र शिक्षिकाको सरुवा मुख्य माग राखेपछि विद्यालयमा बसको सर्वपक्षीय बैठकले सोही अनुरूप प्रधानाध्यापकको राजीनामाका साथै एक हप्ताभित्र अन्यत्र विद्यालयमा सरुवाको निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र जोशीले जानकारी दिए । उनका अनुसार शिक्षा नियमावली अनुसार दुवैजनाको सुरुवा गरिनेछ । विद्यालयको अवस्था बिग्रिन नदिन अब उप्रान्त शैक्षिक गुणस्तर कायम गरी नियमित रूपमा विद्यालयमा संचालनमा सहयोग गर्न नवनियुक्त प्रधानाध्यापक रामदत्त जोशीले सबैमा आग्रहसमेत गरेको छ । विद्यालयमा तालाबन्दी र आन्दोलनका कारण विद्यार्थीको पढाइ प्रभावित भएको जनाइएको छ। प्रहरीको सुरक्षा घेरामा विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिको बैठक भएको छ । बैठकले शाहु र शिक्षिकाको सरुवा गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र जोशीले बताए । यस्तै विद्यालय रहेको क्षेत्र अमरगढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष खड्क बोहराले विद्यालयमा बढेको विवादमा आफ्नो कुनै संलग्नता नरेको बताएका छन् । ‘विद्यालयमा उत्पन्न विवादमा मेरो कुनै पनि किसिमको संलग्नता छैन, कसैलाई त्यस्तो महसुश भएको छ भने माफी माग्न चाहन्छु,’ वडा अध्यक्ष बोहराले भने, ‘अभिभावको माग सम्बोधन गर्नका लागि नै मैले पहल गरेको हुँ ।’ यस्तै विद्यालय व्यवस्थापन समितिको बैठकले सहायक प्रधानाध्यापक रामदत्त जोशीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको छ ।