धनगढी उपमहानगरपालिकामा विशेषज्ञ चिकित्सक सहित वडा क्लिनिक सेवा सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,धनगढी उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरुको सहयोगमा उक्त सेवा शुरु गरिएको हो ।
सोमबार एक विशेष समारोहका बिच धनगढी उपमहानगरपालिकाको १८ नम्बर वडा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले वडा क्लिनिक समुद्धघाटन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका ले आम जनताले स्वास्थ्य सेवाबाट बञ्चित भई रोगी भएर बाँच्नु नपरोस र सबैलाई सर्बशुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्धेश्यले संचालन गरिएको वडा क्लिनिक सेवाबाट आम जनतालाई गाउँघरमै प्रत्यक्ष रुपमा फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा क्लिनिकबाट जनताले महिनाको एक दिन विशेषज्ञ चिकित्सक सहितको टोली मार्फत उपचार पाउने छन् । उपमहानगरपालिका भित्र रहेका १९ वटा वडामा महिनामा एक पटक अनिवार्य रुपमा सञ्चालन हुने वडा क्लिनिकमा अल्ट्रासाउण्ड, ईसीजी, रगत, दिसा पिसाबका जाँच निःशुल्क हुनेछन् भने औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ ।
सेवा सञ्चालन शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना,धनगढी उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष भुवन रिजाल,वडा नं १९ का अध्यक्ष बाँधुराम चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।