बाजुरा। जिल्ला समन्वय समिति बाजुराको निर्बाचन साउन ८ गते हुने भएको छ । जिल्ला समन्वय समिति बाजुराको निर्बाचन कार्यतालिका सार्वजनिक गर्दै साउन ८ गतेकालागि निर्बाचन तोकिएको हो । बुढीगंगा नगरपालिकाको पत्र प्राप्त पछि आज जिल्ला समन्वय समितिको निर्बाचनकालागि कार्यतालिका सार्बजनिक गरिएको मुख्य निर्बाचन अधिकृत्त माधबप्रसाद धिमिरेले जानकारी दिए ।
उनले साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउँन, छुट नामावली समावेशको लागि दरखास्त दिने र शंसोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। यस्तै साउन ४ गते मतदाताको बिरोध उजुरी, उजुरीको जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ।त्यस्तै साउन ५ गते उम्मेद्धारको मनोनयन पत्र दर्ता र मनोनयन दर्ता भएको उम्मेद्धारको सूची प्रकाशन गरिने छ ।
साउन ६ गते उम्मेद्धारको बिरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने भएको छ । त्यस्तै साउन ७ गते उम्मेद्धारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका निकालेको छ । त्यस्तै साउन ८ गते उम्मेदारको अन्तिम नामावली प्रकाशन, उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्बाचन हुने कार्यतालिका सार्बजनिक गरिएको छ । बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहको बैसाख ३० गते र एक स्थानिय तहको असार २३ गते निर्बाचन सम्पन्न गरिएको छ।