डोटी । डोटीको सेती नदीमा कटान रोक्न सशस्त्र प्रहरी परिचालन गरिएको छ। वर्षासँगै सेती नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा कटानको जोखिम बढेपछि नदीको कटान तथा डुबानबाट जोगाउन अस्थायी बाँध लगाउन सुरु गरिएको छ ।
नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ। बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ। गत वर्ष सेतीमा आएको बाढीका कारण नदी किनारका खेतीयोग्य जमिन बगरमा परिणत भएका थिए भने विद्यालय र बस्ती उच्च जोखिममा रहेका छन् ।
नगरपालिकाले जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा जोखिममा रहेका विद्यालय, बस्ती, जमिन बचाउन बाँसको पाइलिङ स्पर, बालुवा माटो भरेको कट्टा र जालीले नदीको कटान रोक्न खोजेको हो । शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५ सशस्त्र प्रहरी खटिएको गणपति वीरसिंह साहुले जानकारी दिए।
टोलीले ढुङ्गा तथा बालुवाका बोरा राखेर कटान रोक्ने काम गरिरहेको छ ।सेती नदी र खोला किनारका दर्जनौं बस्तीहरू जोखिममा रहेकाले यो क्षेत्रमा प्रदेश सरकार र संघ सरकारले विशेष चासो देखाउन जरुरी रहेको स्थानियको भनाई छ । सेतीमा पानीको बहाव बढेपछि सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ । काढीले विभिन्न स्थानमा धान खेतसमेत कटान गर्न थालेको छ ।