बैतडी। बैतडीमा उमेर बढाएर थप ७ जनाले सामाजिक सुरक्षा भत्ता लिएको भेटिएको छ। यसअघि बैतडीका १६ जनाले आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको भेटिएको थियो । १६ जना मध्ये २ जनाले भने आफूले बुझेको भत्ताको दोब्बर रकम सम्बन्धित स्थानीय तहमा फिर्ता गरिसकेका छन् । नेपाली नागरिकताको प्रमाणपत्रमा आफूखुसी जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको हो ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ का ७ जनाले उमेर बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । राष्ट्रिय परिचय पत्रको विवरण संकलनको क्रममा उनीहरुले नागरिकतामा आफूखुसी जन्ममिति बढाएको खुलेको हो । जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारवाही हुने सूचना अधिकारी भारतीले बताए । जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुबाट दोब्बर रकम असुल गरिने बताइएको छ ।
यस्तै नागरिकता ऐन अनुसार पनि कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैतडीमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका २२ जना फेला परेका छन् भने जिल्लाका अन्य ठाउँमा पनि यसरी भत्ता बुझेको हुन सक्ने अनुमान गरिएको छ । अहिले सम्म डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा जन्ममिति बढाएर भत्ता बुझ्नेहरु फेला परेका छन् ।