डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको उग्रतारा माविमा प्रधानाध्यापकले लेखापाललाई कुटपिटपछि उत्पन्न भएको बिवादले सो क्षेत्र आइतबार बिहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार उग्रतारा माविमा प्रधानाध्यापक शाहुले लेखापाल टेक ऐरलाई कुटपिट गरेका थिए । दोस्रो दिन प्रधानाध्यापकले आत्मआलोचना गर्दै लेखापालसंग माफी मागेका थिए । प्रहरीले वडा अध्यक्ष बोहराको रोहवरमा उक्त घटना मिलाएको थियो ।
तर शनिबारदेखि भने स्थानीय अभिभावले प्रधानाध्यापक शाहु र एक शिक्षिकाबीच अनैतिक सम्बन्ध रहेको भन्दै प्रधानाध्यापकको राजीनामा र शिक्षिकाको सरुवा माग गरेका थिए ।स्थानीयले शाहु प्रधानाध्यापक भएपछि पढाइको गुणस्तर घटेको र सोही कारण प्रत्येक वर्ष विद्यार्थीको संख्या पनि घट्दै गएको बताउँदै आएका थिए । उनको कार्यशैली र व्यवहारप्रति स्थानीय, अभिभावक र विद्यार्थी पनि रुष्ट भएका थिए। यस्तै आइतबार बिहान देखी स्थानीय आक्रोशित भएका छन्। प्रधानाध्यापकको राजीनामा माग्दै आफूहरुले तालाबन्दी गरिएको स्थानीय शेरबहादुर भण्डारीले बताए।
स्थानीयले विद्यालय जस्तो ठाँउमा हातपात गरेको घटना निन्दनिय रहेको भन्दै प्रधानाध्यापको राजीनामा मागेको उनले बताए। कुटपिटबाट लेखापाल ऐर घाइते भएका छन्। उनको खुट्टा, पिठ्युमा चोट लागेको स्थानीयले बताएका छन्। स्थानीयको मागपछि राजीनामा दिन प्रधानाध्यापक शाहु र सरुवाका लागि शिक्षिका पनि सहमत भएका थिए । तर दुबै जनाले आफुले अध्यापन गराउने विषयको दरबन्दी नै खारेज हुनपर्ने माग गरेका थिए । उक्त अधिकार विद्यालय व्यवस्थापन समितिलाई नभएपछि विद्यालयमा तनाव बढेको थियो । सो क्रममा ढुंगामुडा भएपछि स्थानीय वीरेन्द्र कैनी घाइते भएका छन् ।
उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । विवाद बढेपछि प्रधानाध्यापक शाहुले भने राजीनामा दिएका छन् । यस्तै प्रहरीको सुरक्षा घेरामा विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिको बैठक भएको छ । बैठकले शाहु र शिक्षिकाको सरुवा गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र जोशीले बताए । यस्तै विद्यालय रहेको क्षेत्र अमरगढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष खड्क बोहराले विद्यालयमा बढेको विवादमा आफ्नो कुनै संलग्नता नरेको बताएका छन् । ‘विद्यालयमा उत्पन्न विवादमा मेरो कुनै पनि किसिमको संलग्नता छैन, कसैलाई त्यस्तो महसुश भएको छ भने माफी माग्न चाहन्छु,’ वडा अध्यक्ष बोहराले भने, ‘अभिभावको माग सम्बोधन गर्नका लागि नै मैले पहल गरेको हुँ ।’ यस्तै विद्यालय व्यवस्थापन समितिको बैठकले सहायक प्रधानाध्यापक रामदत्त जोशीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको छ ।