बाजुरा। लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी राजमार्ग खुलेको छ । राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा अवरुद्ध भएको सडक खुलाइएको भएपनि सवारी साधन भने आवतजावतमा समस्या भएको छ ।
अम्कोटको पहिरो पन्छ्याएर बाटो खुलेको भएपनि सडकमा पानी आउन थालेपछि सवारी साधन संचालनमा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन्। सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा सडक खुलाएको भएपनि मालबहाक सवारी साधन र जीपहरु आवतजावत गर्न सकस भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सडक डिभिजन कार्यालयको दुई वटा डोजरले सडकमा आएको पहिरो पन्छ्याएर बाटो खुलाएको भएपनि ठुला सवारी साधन आवतजावतमा गर्न सम्भव नभएको बताए । उत्त सडकमा मोटरसाइकल लगायतका साना सवारी साधन मात्र आवतजावत गर्ने गरेको प्रहरी उपरिक्षक थापाले बताए । तीनदिन देखि आएको लगातारको अविरल वर्षाका कारण मार्तडी–घटमुना,मार्तडी–कोल्टी लगायतका सडक पनि अवरुद्ध भएका छन् । उक्त सडकमा पर्ने खोलाहरुमा पानीको बहाव बढ्न थालेपछि सवारी सडक अवरुद्ध भएको हो । सो क्षेत्रमा ठाउँ ठाउँबाट सवारी संचालन हुदै आएका छन् ।