बझाङ। बझाङको वित्थडचिर गाउँपालिकाले करार सेवाका कर्मचारीलाई अर्को निर्णय नहुन्जेसम्मका लागि कार्यालयमा हाजिर नगर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई उक्त निर्देशन दिएको हो।
निवेदनमा भनिएको छ, ‘बित्थडचिर गाउँपालिका गाउँकार्यपालिकाको २०७९ असार ३१ गतेको बैठकको निर्णयानुसार गाउँपालिकाको कार्यालयअन्तर्गत कार्यरत करार सेवाका कर्मचारीको (इन्जिनियरिङ सेवा लगायतका प्राविधिक कर्मचारीहरु र सामाजिक परिचालकहरु तथा कार्यालय सहयोगी) सेवा करार म्याद थप कार्यसम्पादन मूल्यांकनको आधारमा मात्र गर्ने निर्णय भएको साथै त्यसका लागि पालिकामा मूल्यांकन समिति गठन भएको व्यहोरा जानकारी गरिन्छ।
’गठित समितिले निर्णय नगरुन्जेल करार सेवाका कर्मचारीलाई कार्यालयमा हाजिरी नगर्न निर्देशन दिइएको छ। सूचनामा उल्लेख छ, ‘प्रकाशित करार म्याद थपका लागि निवेदन दिने सूचनाबमोजिम प्राप्त निवेदनमाथि गठित समितिले निर्णय गरेपछि मात्र निर्णयबमोजिम म्याद थप हुने भएकोले सो निर्णय नहुन्जेलसम्मको लागि सम्बन्धित कर्मचारीहरूले कार्यालयमा हाजिर नगर्न हुन जानकारी गरिन्छ ।’