बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाले एकैपटक ५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको छ। विगतको सरकारले विनाश्रोत भर्ना गरेको भन्दै बिद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
विद्यालयमा कार्यरत कार्यालय सहयोगी, पालिका शिक्षक स्वयंसेवक र अन्य विद्यालय कर्मचारी कार्यालय सहयोगी, कृषि प्राबिधिक, समाजिक परिचालक र स्वास्थ्यका कर्मचारीगरी ५८ जनाको करार अवधि नथप्ने निर्णय भएको प्रवक्ता भट्टले बताए। ‘विगतमा बिनाश्रोत भर्ना गरिएका थिए, हामीले विकासे बजेटबाट उनीहरुको पारीश्रमिक दिनुपर्यो, राजनीतिक पहुँचको आधारमा कर्मचारी भर्ना गरिएको थियो, त्यसैले उनीहरुलाई हटाएका हौं।’ उनले भने।
यसैगरी जिल्लाको पाटन नगरपालिकाले पनि बिना लाईसेन्सका विद्यालय शिक्षकहरुलाई हटाएको छ। यसअघि पालिका शिक्षक स्वयंसेवक भनेर नियुक्त गरिएका लाईसेन्स विहिन शिक्षकहरुलाई हटाएको हो। साउन १ गते देखि लागु हुनेगरी लाइसेन्सविहिन शिक्षकहरुलाई हटाएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए। उनले भने ‘पाटनमा १२९ पालिका स्वयंसेवक शिक्षक छन्, तीमध्ये लाइसेन्स नभएका शिक्षकहरु हट्ने छन्। विद्यालयहरुबाट लाईसेन्स बिहिन शिक्षकहरुको तथ्याङ्क माग गरिएको छ।’ नगरपालिकाले गत जेठ ३१ गते नै लाइसेन्स विहिन शिक्षकहरुलाई हटाउने निर्णय गरेको थियो।