धनगढी। सुदूरपश्चिम प्रदेश सभा बैठकबाट अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बहुमतले पारित गरे पनि सत्तारुढ दलभित्रको असन्तुष्टि सेलाउन सकेको छैन् । बजेट संशोधनको माग गर्दै आएका सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य पूर्णा जोशी र तारा लामा तामाङले प्रदेशसभाको बैठक नै बहिष्कार गरे।
बजेटमाथि छलफल गर्न बुधबार पौने ४ बजे बसेको प्रदेशसभाको पहिलो बैठकमा सहभागी भएपनि पूर्वमन्त्री समेत रहेका उनीहरू दुवै जनाले छलफलमा भाग लिएनन् । बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक कक्षबाट बाहिरिएका थिए । तर बजेट पास गर्न बसेको प्रदेशसभाको दोस्रो बैठक भने बहिष्कार गर्दै उनीहरुले भाग नै लिएनन् । जसकारण नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशी बजेटको विपक्षमा उभिइन्।बजेट संशोधनको माग गर्दै आएकी प्रदेश सभा सदस्य जोशीले बजेट संशोधन नभई पक्षमा उभिन नसक्ने भन्दै बैठक बहिस्कार गरेकी हुन्।
‘यथास्थितिमा बजेट पारित गर्नु हुँदैन भनेर मैले विगत एक महिनादेखि फरक मत राख्दै आएको कुरा सर्वविदितै छ । सिङ्गो सुदूरपश्चिमले बजेट गलत छ भनेका बेला म कसरी सही छ भन्ने सक्थें,’ जोशीले भनिन्, ‘हाम्रो पार्टीको प्रदेश कमिटी बैठकमा ९ जिल्लाकै नेतृत्वमा बसेका साथीहरुले बजेट गलत भएकाले सच्याउनुपर्छ भन्नुभएको छ । गलत प्रवृत्तिका विरुद्ध हिजो पनि थिएँ आज पनि छु ।’ उनले पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारले ल्याएको बजेटका विषयमा सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेता र प्रदेशसभा सदस्यहरुसँग भने राति १२ बजेसम्म छलफल गरेर कुरा सुनेको बताउँदै त्रुटी सच्याउन सरकार तयार नभएको बताइन् ।
प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलसँग गरिएको १४ बुँदे सहमति जनताको आँखामा छारो हाल्ने कुरा मात्रै भएको टिप्पणी गरिन् । ‘त्यो १४ बुँदे भनिएको सहमतिमा कुनै कुरा नयाँ छैन । यो प्रदेशवासीको आँखामा छारो हाल्ने काम मात्र भएको छ । लम्पसार पार्ने कुरा मात्रै हो,’ जोशीले भनिन् ।उनले बजेटले जनताको भावना नसमेटेको बताइन् ।आवश्यकताका आधारमा भन्दा पनि बिचौलियासँगको मिलेमतोमा योजना ल्याइएको जोशीले आरोप लगाइन् । बजेटमाथि असन्तुष्टि जनाउँदै प्रदेशसभाको बैठक बहिष्कार गरेका एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले भने सार्वजनिक रुपमा अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन् । प्रदेशसभा बहिष्कार गरेकी जोशी पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुन् भने तामाङ पूर्व आर्थिक मामिला मन्त्री हुन् । उनीहरु दुवै जना नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका थिए । बजेट छलफल गर्न बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकमा समेत जोशी र तामाङसहितका बहुमत प्रदेशसभा सदस्यले यथास्थितीमा बजेट पारित गर्न नसकिने अडान लिएपछि कुनै निर्णय गर्न सकेको थिएन । उनीहरुले बजेटमाथि असहमति जनाउँदै प्रदेशसभा बैठक बहिष्कार गरेको विषयमा समाजवादीको प्रदेश संसदीय दलले अहिलेसम्म कुनै प्रतिक्रिया राखेको छैन ।