डडेल्धुरा। प्रधानमन्त्री भएको एक वर्ष पुग्दा चौतर्फी आलोचना खेपेका शेरबहादुर देउवाले आफ्ना मतदाताको पनि मन जित्न सक्नुभएको छैन । तीन दशकदेखि निरन्तर डडेलधुराबासीको जनप्रतिनिधि रहँदै आउनुभएका देउवा पटक(पटक देशको प्रधानमन्त्री बन्दा पनि आफ्नो गृह जिल्लालाई बेवास्ता गरेको आरोप देउवामाथि लाग्ने गरेको छ ।
देशको प्रमुख कार्यकारी पदमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचौं कार्यकालको मूल्याङ्कन जिल्लाबासीको मूल्याङ्कनमा अब्बल छैन । अदालतको परमादेशबाट पाँचौं पटक प्रधानमन्त्री बन्नुभएका देउवाबाट जिल्लाबासी विकासका मुद्दा सम्बोधन हुने अपेक्षा राखे पनि पूरा नभएको भन्दै निरासा प्रकट गर्छन् । वर्तमान सरकारलाई उनीहरूले दलाल प्रवृत्तिको सरकारको संज्ञा दिएका छन् । सरकारले आफ्ना कार्यकर्ता पोसिरहेको उनीहरूको आरोप छ । देउवा नेतृत्वको सरकारले आवधिक स्थानीय तहको निर्वाचनबाहेक अन्य कुनै उपलब्धिमूलक काम गर्न नसकेको स्थानीयको मूल्याङ्कन छ । सुशासन कायम, जनजीविका, राजनीतिक स्थिरता कायम गर्ने लगायतका काममा सरकार चुकेको टिप्पणी जिल्लाबासीको छ ।
सरकार निर्माण भएको एक वर्ष पुग्दा देशमा महंगी नियन्त्रण र सुशासन कायममा सरकार पूरै असफल भएको स्थानीयको भनाइ छ । जनअपेक्षा अनुसारको उपलब्धि एक वर्षमा देख्न नसकिएको स्थानीको गुनासो छ । नेताहरूले देशको लागि नभएर विदेशीको लागि काम गरिरहेको उनीहरूको गुनासो छ । प्रधानमन्त्री र पार्टी सभापति हुँदा पनि जिल्लालाई प्राथमिकतामा नराखेको आरोप खेपिरहनुभएका प्रधानमन्त्री देउवाले जिल्लाको राजनीतिमा गुट च्यापेको आरोप लागेको छ । पार्टीको आन्तरिक राजनीति मात्र हैन, जिल्लाका प्रतिपक्षीहरू पनि उहाँको गतिविधिप्रति सन्तुष्ट छैनन् । तीनदशकदेखि निरन्तर डडेलधुराबासीको भाग्यनिर्माता रहेका देउवाप्रतिको यो मूल्याङ्कन लोकतन्त्रका लागि आफैंमा सुखद खबर होइन ।