बाजुरा। बाजुरामा एक बैंकका गार्डको बन्दुक खोस्ने प्रयास गरिएको छ। बाजुराको राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा सेवाग्राहीले गार्डको बन्दुक खोस्न खोजेपछि केही बेर बैंक क्षेत्रमा तनाव भएको हो। बुढीनन्दा गाउँपालिका-४ कुडुबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन आएका करिब ३५ वर्षका तेजबहादुर खड्काले बैंकका सुरक्षा गार्ड विशाल कैलाको बन्दुक खोस्ने प्रयास गरेका थिए ।
असार मसान्त लागेसँगै बुधबार उक्त राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा सेवाग्राहीको निकै बाक्लो भिड थियो। त्यही भिडबाट आएका खड्काले बन्दुक खोस्ने प्रयास गरेको गार्डले बताएका छन्। तर, उनको प्रयास सफल नभएको उनले बताए।त्यहाँ रहेका अन्य सेवाग्राहीहरुले बन्दुक खोस्ने मान्छेलाई रोकेका थिए। लाइनमा आफूभन्दा पछि रहेकाले धकेलेपछि उनैलाई आक्रमण गर्ने गरी बन्दुक खोस्ने प्रयास गरेको बैंकका शाखा प्रमुख कमलसिंह ऐरले जानकारी दिए । गार्डसँग झगडा भएको होइन’ उनले भने ‘आफूलाई भकेल्ने मान्छेलाई हान्न भन्दै उनले गार्डको साथमा रहेको बन्दुक खोस्न खोजेका हुन्।
’बन्दुक खोस्ने खड्कालाई प्रहरीको जिम्मा लगाइएको ऐरले जानकारी दिए ।वाणिज्य बैङ्कको कोल्टीबाट प्रहरीले खड्कालाई इलाका प्रहरी कार्यालय कोल्टी लगेका थिए । त्यहाँ खड्काको बुबाआमा समेत पुगेको र उनीहरूले खड्काको मानसिक स्वास्थ्यमा समस्या रहेको प्रहरीलाई बताएका छन् ।वडा नम्बर ४ का अध्यक्षले जिम्मा लिएर खड्कालाई लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताए ।यस्तै अचेल असार मसान्तका बेला सेवाग्राहीको संख्या बढेकाले गार्डलाइ व्यवस्थापन गर्न समेत सकस परिरहेको जनाइएको छ। भिडिओसहित