बाजुरा। बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएपछि समन्वय प्रमुख को बन्ने भन्ने बिषयको चर्चा हुन सुरु गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिकाकाको निर्वाचन सम्पन्न भएसंगै जिल्ला समन्वय समिति (जिसस) प्रमुख को बन्ने भन्नेमा बारेमा चर्चा चल्न सुरु भएको हो । स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्लामा (जिसस)को चर्चा चुलिएको छ ।
बुढिगंगा नगरपालिकामा बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो। आईतवार सार्वजनिक भएको परिणाम अनुसार निर्वाचनमा एमालेले जितेको छ ।नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भएका छन । बुढीगंगा नगरपालिकामा पनि एमालेले जितेपछि समन्वय एमालेकै बन्ने भएको छ । समन्वय पक्का एमालेको बन्ने भएपछि प्रमुखमा कसलाई बनाउने भन्ने चर्चा चलिरहेको छ । यतिबेला जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा दुई जनाको चर्चा चल्न थालेको छ ।
समन्वय प्रमुखमा नेकपा एमालेका नेता तुलसीराम रोकाया र हिक्मत थापाको चर्चा चल्न थालेको छ । लामो समयदेखि राजनीतिमा हुमिएका रोकाया गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गौमुल गाउँपालिका–६ को वडामा निर्वाचित सदस्य पनि हुन् । सामाजिक सञ्जाल, होटेल, चिया पसलमा कुरा चल्न थालेका छन् । केही दिनअघि बुढीगंगाको चर्चा चलिरहेको थियो । बुढीगंगाको चर्चा अन्त्य भएपछि जिल्ला समन्वय समिति बाजुराको चर्चा चुलिएको छ । आ–आफ्नै धारणा राख्न थालेका छन् । तुलसीराम रोकाया निकटका मानिएका कार्यकर्ता तथा आफन्त रोकायालाई नै प्रमुख बनाउनु पर्छ भन्ने धारणा राखि रहेका छन्, भने हिक्मत थापा निकटका व्यक्तिहरु पनि थापालाई नै प्रमुख बनाउनु पर्छ भन्ने धारणा सामाजिक सञ्जालका वालमा राखिरहेका छन् । यी दुबै जना एमालेका पुराना अनुहारका रुपमा चिनिन्छन् ।
दुबै जना उम्मेदवार बलिया उम्मेदवारका रुपमा रहेका छन । नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ । ६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो । बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । ९ वटा स्थानीय तह रहेको बाजुरामा नेकपा एमालले ६ पालिका जितेको छ । बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र छेडेदह गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षमा एमाले नै जितेको छ । हिमाली गाउँपालिकामा अध्यक्ष र खप्तड छेडेदह गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जितेको छ । भने स्वामीकार्तिक खापर गाउँपालिका र त्रिवेणी नगरपालिकामा कांग्रेसले जितेको छ । योसंगै समन्वय एमालेको शुनिश्चित भएको छ । स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समिति (जिसस) गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर बुढीगंगाको निर्वाचन रद्द गरि पुनः निर्वाचन गर्नुपर्ने निर्णयपछि समन्वयको गठन समेत रोकिएको हो । गत वैशाख ३० गते भएको स्थगित गरिएको निर्वाचन एक महिनापछि असार २३ गते भएको थियो ।