धनगढी : प्यारालाइसिसबाट पिडित बनेका धनगढीका राजकुमार चौधरीलाई नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशले आर्थिक सहयोग गरेको छ । पुर्व चालक तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका सदस्य चौधरीलाई बस चालक अनुमतीपत्र नविकरणका लागी युनियनले आर्थिक सहयोग गरेको हो ।
२०७४ सालमा नवलपरासीमा ट्रक दुर्घटना पछि प्यारालाइसिस भएका राजकुमार चौधरी अशक्त बनेपछि उनले चालक अनुमतीपत्र नविकरण गर्न पाएका थिएनन् । दुर्घटनापछि बिर अस्पतालमा उपचार गराएपनि उनलाई प्यारालाइसिस भइसकेपछि उनि अशक्त भएर घरमै बसेका थिए ।
२०७६ मा नविकरण गर्नुपर्ने चालक अनुमतीपत्र आर्थिक अभाव, र प्यारालाइस ले नविकरण गर्न नपाएको चौधरीले बताए । नविकरणका लागी लाग्ने १६००० रकम नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले चौधरीलाई आज हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै चन्दले भने “मजदूर हरुको संगठन आर्थिक रुपले सबल त हुँदैनन्, हामी आफै आर्थिक अभावमै छौँ तर ट्याकंर चालक, बस चालक लगायतका मजदूरहरुबाटै सहयोग रकम संकलन गरी समस्यामा भएका मजदूरलाई सहयोग गरेका हौँ ।” यातायात मजदूरहरुलाई धेरै सहयोग गर्न नसकेपनि मजदूरहरुकै सहयोगमा केही सहयोग गरेको उनले बताए ।
सहयोग रकम बुझ्दै चौधरीले औसधी खान समेत पैसा न भएकोले चालक अनुमतीपत्र नविकरण गर्न नपाएको बताए । लाइसेन्स नविकरणका लागी नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशले सहयोग गर्दा धेरै राहत पुगेको भन्दै चौधरीले धन्यबाद दिए ।