बैतडी। बैतडीमा स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसमा दुई दर्जन उजुरी परेका छन् । गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै बैतडी कांग्रेसमा दुई दर्जन उजुरी परेका हुन्। पार्टीका जिम्मेवारी पदाधिकारी विरुद्ध नै उजुरी परेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै लिखित र मौखिक रुपमा दुई दर्जन उजुरी परेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । परेका उजुरीका बिषयमा जिल्ला कार्यसमितिले अध्ययन गरिरहेको समेत उनले बताए । उनले भने ‘आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै उजुरी परेका छन् । उजुरीका बिषयमा हामीले अध्ययन गरीरहेका छौं ।’
जिल्ला कार्यसमितिमा परेका उजुरीका बिषयमा अध्ययन गरेर जिल्ला कार्यसमितिको अर्को बैठकमा छलफल गरिने सचिव जोशीले बताए। सोमबार बसेको बैठकमा उजुरीका बिषयमा समान्य छलफल भएपनि थप छलफल भने नभएको उनले बताए ।स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका जिम्मेवार नेताहरुले नै अन्तर्घात गरेको, अर्को पार्टीका लागि भोट मागेर कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उजुरी परेका बताइएको छ ।बैतडीका १० ओटा स्थानीय तह मध्ये नेपाली कांग्रेसले चार ओटा स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो ।