बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरु गर्न सर्वदलीय बैठक बस्दैछ । नगरपालिकामा स्थानीय तहको पुनः मतदान बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य सकिएपछि गणना शुरु गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो ।
राति नै गणना शुरु गर्ने भनिएपनि भौगोलिक विकटता र प्रतिनिधिहरू थालेका कारण आज मात्रै गणना शुरु गर्ने सहमति भएको थियो ।त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।बिहान सर्वदलीय बैठक गर्ने की खाना खाएर गर्ने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।
‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,’ मुख्य निर्वाचन अधिकृत माधव घिमिरेले भने, ‘राती नै गणना शुरु गर्ने कुरा थियो तर, दलका प्रतिनिधिहरू थालेकाले आज बिहानदेखि गर्ने कुरो छ । हिजो ६६.८३ प्रतिशत मत खसेको थियो । गत वैशाख ३० मा स्थानीय चुनाव भएपनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । कांग्रेसबाट बुढीगंगाको मेयरमा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ तथा उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।