बाजुरा। बाजुरा बुढीगंगा नगरपालिकामा पुनः निर्वाचनको मतदान जारी छ। बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न बिहान ७ बजे देखी भैरहेको मतदान जारी रहेको हो। बिहान ७ बजेदेखी भैरहेको मतदानमा २ बजे सम्म ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । यस्तै बुढीगंगा नगरपालिका–९ को मतदान केन्द्रमा सामान्य विवाद भएको छ।
नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो । दुईपक्षका कार्यकर्ता बीच भएको सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना हुने भन्दै प्रहरीले हवाय फायर गरेपछि करिब १५ मिनेट मतदान स्थगित भएको थियो । पुनः अवस्था सामान्य भएर मतदान पनि सुचारु भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् । विवाद रहीत शान्त वातावरणमा निर्वाचन गराउन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको भनाई छ।
‘केहीबेर सामान्य भनाभना हुने गरि विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले बताए । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो विवाद भएको प्रहरीले बताएको छ । विवादमा धरपकड हुँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा सामान्य चोट लागेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन्। विवाद साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरिएको हो ।
यस्तै यसअघि बुढीगंगा नगरपालिका १० को सिगाड मतदान केन्द्रमा प्रहरी र मतदाताबीच समान्य लफडा भएको छ। प्रहरी र मतदाताबीच सामान्य लफडा भएको पारस रावलले जानकारी दिएको छ ।उनका अनुसार प्रहरी सुरक्षाको घेरा भन्दा बाहिर गएका छन् । मतदातालाई मतदान गर्न नदिएको उनले बताए । प्रहरीले मत हाल्न नदिएर जनतालाई थर्काने गरेको मतदाताले आरोप लगाएका छन् ।मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।