धनगढी। धनगढी उपमहानगरपालिकाकाद्धारा वडा क्लिनिक संचालन गर्न गाडी हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न सरकारी गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन्। हमालले धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने बताएका थिए।
वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरका प्रमुखको गाडी तयार गरी एक समारोहका बीच श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई हस्तान्तरण गरे। उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षणसँगै ल्याव सेवा, अल्ट्रासाउन्ड र इसिजी सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ। धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यसअघि नै भएको छ।
उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ। साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने नगर प्रमुख गोपाल हमालले बताए।हामीले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेकोको उनले बताए । नागरिकको घरमै स्वास्थ्य सेवा पुगाउन वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको र वडा क्लिनिकमा उपचारसँगै सबै किसिमका औंषधि पनि निःशुल्क प्रदान गर्ने योजना रहेको उनले बताएका छन् ।