अछाम। अछामको साँफेबगर नगरपालिका ७ स्थित बयलपाटा अस्पतालको अध्ययन तथा अबलोकन गरीएको छ । सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति सदस्य डिल्लीराज भट्टले सो अस्पतालको आइतबार अध्ययन तथा अबलोकन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र नेपाली गैरसरकारी संस्था न्याय हेल्थ नेपाल एन एच एन Nyaya Health Nepal (NHN) को साझेदारी बाट संचालनमा रहेको अस्पतालको अध्ययन तथा अबलोकन गरीएको जानकारी दिए ।
अस्पतालको अध्ययन तथा अबलोकन क्रममा सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति सदस्य भट्टले स्वास्थ्य सेवालाइ पारदर्शी, जफावदेही एवं जनउत्तरदायी बनाइएको बताए । अस्पताललाई स्वास्थ्य सुशासन, समुदायको संस्कृतिलाई मध्येनजर गर्दै स्वास्थ्य सेवालाई सेवाग्राही मैत्रीका साथै उजुरी,गुनासो तथा सुझावको सुनुवाई गरि समाधानकोलागि योजना बनाई कार्यान्वयन गरिएको पाइएको बताए । यस्तै बयलपाटा अस्पतालका सिनियर फाइनान्स अफिसर राम राज खकुरेलले सबैका लागि गुणस्तरीय स्वास्थ्य अनुरुप नेपाल सरकारसंग सहकार्य गर्दै सुबिधा-बन्चित समुदायका लागि स्वास्थ्य सेवामा सुधार गर्ने लक्ष्य लिएर काम भइरहेको बताए ।
सरकारले वित्त प्रदान गर्न लिएको जिम्मेवारी, सक्षम वातावरण र स्वास्थ्य सेवाबाट बन्चित समुदायमा पुग्ने क्षमतामा सहयोगका साथै वर्ग, भौगोलिक, लैंगिक, जात र जातीयताको कारण स्वास्थ्यमा असमानताहरू सुधार भैरहेको उनले बताए। यस्तै बन्चित जनसंख्यामा ध्यान एकीकृत सेवा प्रवाह प्रणाली निर्माण, एकीकृत कार्यक्रम डिजाइन र लागू, स्वास्थ्य सेवा प्रणाली को लागी एक एकीकृत दृष्टिकोण मापन गर्ने लक्ष्यका साथ र नयाँ प्रविधिको प्रयोग गरि काम गरिहेको बयलपाटा अस्पतालका सिनियर फाइनान्स अफिसर खकुरेलले जानकरी दिएका छन् । यस्तै स्वास्थ्यमा न्याय , उपचारमा भेदभाव नहोस भन्ने उदेश्यका साथ अस्पताल भित्र प्रवेश गरिसकेपछी उपचारमा मात्रै अस्पतालको लगाव हुने उनले बताए । साथै बिरामीका लागी उपचारमा आर्थिक लगायत अन्य समस्यालाई मध्यनजर गर्दै संचालन भएको अस्पतालले डडेलधुरा, बाजुरा, डोटी, दैलेख, मुगु र अन्य केहि जिल्ला बाट रिफर भएका बिरामीहरुको निशुल्क औषधि उपचार सहित बिरामीहरुलाई खानाको व्यवस्था गरेको जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको तर्फबाट बोल्दै व्यवस्थापन समिति सदस्य भट्टले बिरामीलाई समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु अहिले आवश्यकता भएको बताए । उनले भने,
गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरुको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदि पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवश्यक कुरा हुन् उनले भने । साथै जुनसुकै मुलुक, समाजमा बसे पनि, जस्तो आर्थिक हैसियत भए पनि हरेक व्यक्तिको ज्यान उत्तिकै महत्वपूर्ण हुन्छ र कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु, समयमा नै भने अनुसार औषधीको सेवन गर्नु र आफ्नो स्वास्थ्यको पूरा ख्याल राख्ने जिम्मा हरेक व्यक्तिको हो त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हरेक स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरु सेवाग्राही प्रति उत्तरदायी हुनु नितान्त जरुरी छ उनले भने ।
साथै स्वास्थ्य सेवा अति सम्वेदनशील सेवा भएकाले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै सेवाग्राहीको अधिकार हो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकार, स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मी सबैको कर्तब्य हो उनले भने । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षले यो सम्वेदनशिल भएर बुझ्नु र बुझाउनु एकदम जरुरी छ । सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने सल्लाह र सुझाव दिइएको बताए । यस्तै सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति सदस्य भट्टले बयलपाटा अस्पताल सिमित स्रोत साधन र नयाँ प्रविधिको प्रयोग गर्दै राम्रो व्यस्थापनका साथ संचालन भइरहेको धारणा राखेका छन् । साथै उनले बयलपाटा अस्पतालसँग समन्वय सहकार्य गरि प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुले पनी स्वास्थ्य सेवामा सुधार गर्न सकिने बताए । साथै उनले बयलपाटा अस्पतालले स्वास्थ्य क्षेत्र पुर्याएको योगदानको कदर गर्दै सरकारले अस्पताललाई प्रदेश अन्तर्गत राखी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा बिस्त्तार गरि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा ज्ञान , शिप र धारणाको विकास गर्नु जरुरि रहेको समेत बताएका छन् । धनगढी स्थीत सेती प्रादेशिक अस्पताल व्यस्थापन समिति सदस्य डिल्ली राज भट्ट सुदुरपश्चिम प्रदेशमा रहेका बिभिन्न अस्पतालहरुको अध्ययन तथा अबलोकनका क्रममा अछाममा पुगेका हुन् । यसअघि डोटीस्थीत डोटी जिल्ला अस्पतालको पनी अध्ययन, अबलोकन तथा निरीक्षण समेत गरिसकेका छन्।