काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट प्रमाणित भएको बताएका हुन् ।क्लबका प्रतिनिधि ईश्वर कार्कीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरुप काम भैरहेको जिकिर गरेका हुन् ।
उनले भने,‘अहिलेको सरकार विशेष राजनीतिक परिवेशमा, विशिष्ट जिम्मेवारी बोकेर निर्माण भएको हो । तत्कालिन नेकपाको सरकार खासगरी तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान भत्काउने काम गरिसकेपछि, पटक–पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्यौल र अस्थिरतातर्फ लिएर जाने काम गरेको थियो । संविधान भत्काउने काम गरेको थियो, हामीले अत्यन्तै ठूलो त्याग, तपस्या र मेहनतले बनाएको संविधान नै निश्प्रभावी हुनेगरि अघिल्लो सरकारले काम गर्न थाल्यो, त्यसको विरुद्धमा अहिलेको सरकार बनेको हो । यो पाँच दलीय गठबन्धन बनेको हो ।’
उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भैरहेको दाबी गरे । उनले भने,‘सरकारले आवधिक निर्वाचनलाई महत्व दिएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, अहिले मुलुक संविधान निश्प्रभावी हुने खतराबाट जोगिएको छ । यो सरकार गठन हुँदाखेरि कोभिड–१९ बाट मुलुक आक्रान्त थियो, कोभिडको जोखिमपूर्ण अवस्था थियो । जनताको ज्यानको सुरक्षा गर्ने पहिलो जिम्मेवारी सरकारको हो । सरकारले पहिलो प्राथमिकता खोप भनेको थियो । प्रधानमन्त्रीज्यूले पनि सबै नागरिकलाई खोपको प्रतिबद्धता जनाउनुभएको थियो, त्यसअनुसार सरकार सफल भएको छ । यो सरकार पाँच वर्ष शासनसत्ता सञ्चालन गर्न गठन भएको होईन । जनताबाट पाँच वर्ष शासन गर्न गठन भएको तत्कालिन ओली सरकारले गरेका गलत काम रोक्नको लागि यो सरकार गठन भएको हो । प्रधानमन्त्री देउवाले तदअनुरुप आफ्ना काम अघि बढाउनुभएको छ । जे उद्देश्यले सरकार गठन भएको हो, त्यो काम देउवाले गरिरहनुभएको छ ।’
पूर्वमन्त्री लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दापनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकोले अब छिट्टै ती काम पनि सम्पन्न गरिने विश्वास दिलाए । उनले भने,‘महाधिवेशन भएको ६ महिना भयो । विधानले ६ महिनाभित्र विधान बनाईसक्नुपर्ने, पदाधिकारी नियुक्त गरिसक्नुपर्ने, कार्यसमितिलाई पूर्णता दिनुपर्ने कुरा गरेको छ । महाधिवेशनलगत्तै हामी स्थानीय तहको निर्वाचनमा प्रवेश गर्यौं । पार्टीका केही काम गर्न ढिलाई भएको छ । विभाग गठनका कुरा, कार्यसमितिलाई पूर्णता दिने कुरा अनि पदाधिकारी लगायत सबै विषयमा केही ढलाई भएको छ । अब चाँडोभन्दा चाँडो यी काम पूरा गर्नुपर्छ । कांग्रेस अहिले सरकारको मोर्चामा पनि नेतृत्वदायी भूमिकामा छ । समग्र राजनीतिक गतिविधिमा पनि आफ्नो भूमिका सशक्त बनाएको छ । अहिले स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो दल बनेको छ ।’उनले सभापति देउवाले काम गर्न सक्नुभएन भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘उहाँबाट सरकार र पार्टी दुवै मोर्चामा क्रियाशिलताका साथ काम भएका छन् । सरकार र पार्टीभित्र असफल भएको छ भन्ने कुरा होईन भन्ने आग्रह गर्न चाहन्छु ।’
उनले शेखर कोइराला समूहले पार्टी सभापतिबारे निकालेको निश्कर्षमा आफ्नो सहमति नभएको टिप्पणी गरे । उनले भने,‘पार्टीभित्र विभिन्न विषयमा छलफल हुने गर्छन् । विभिन्न कोणबाट साथीहरुले छलफल गर्नुहुन्छ । केही साथीहरुले सरकारले सफलतापूर्वक काम गर्न नसकेको, अनि पार्टीमा सभापतिले ठीक ढंगले काम गर्न नसकेको निश्कर्ष निकाल्नुभएको छ, त्यो निश्कर्ष पूर्ण रुपले ठीक छैन् । सरकारको हामीले ठीक ढंगले मूल्यांकन गर्नुपर्छ । जे कामको लागि सरकार गठन भएको थियो, त्यहीअनुसार काम गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीको विषय छ, अन्तर्राष्ट्रिय घटनाक्रमसँग पनि जोडिन्छ । यी कमिकमजोरीलाई सुधार गरेर जानुपर्छ । कांग्रेस ठीक ढंगले नचलेको भए कसरी पहिलो दल बन्यो त रु नेतृत्व सफल भएको छ । पार्टी कमजोर र क्रियाशिल नभएको भन्ने साथीहरुको जो धारणा छ, त्यससँग सहमत हुन सकिँदैन् । सामान्य कमिकमजोरी सुधार गर्नुपर्छ ।’उनले शेखर कोइराला समूहले भागबण्डाको राजनीति गर्न खोजेको कुरा मिडियामा आएको उल्लेख गर्दै सुरुमा कोइराला समूहले भागबण्डाको अन्त्यको आवाज उठाएको बताए । उनले भने,‘उहाँहरुले पार्टीको महाधिवेशनमा निर्वाचन लड्दा, भागबण्डाको राजनीतिक समाप्त हुन्छ भन्नुभएको थियो । अहिले अखबारमा सुनेको छु–४० प्रतिशतको भागबण्डा खोज्ने भनेर । छलफल र भेला गर्ने कुरा स्वभाविक हो । उहाँहरुको निश्कर्ष र निक्र्यौल्सँग म व्यक्तिगत रुपमा सहमत हुन सक्दिनँ ।’
उनले आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने धारणा राखे । उनले भने,‘जनताले हाम्रो पार्टीसँग भरोसा गरेका छन् । कम्युनिष्ट पार्टीसँग नेपाली जनता आजित भएका छन् । दुःखी भएका छन् । चित्त दुःखाएका छन् । निर्वाचनको बेलामा मिल्ने, अनि चुनाव जितेपछि आफ्नो सरकार आँफै ढाल्ने काम पनि भएका छन् । नेकपा एमालेले सरकारमा हुँदा जुन काम गर्यो, जनता असन्तुष्ट छन् । अहिले जनताले कांग्रेसतर्फ आशा र भरोसा गरेका छन् । एकताबद्ध, संगठित र अनुशासित भएर अघि बढ्नुपर्छ । सम्भावित विवादलाई सरसल्लाह गरेर टुँगोमा पुर्याउनुपर्छ ।’नेता लेखकले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर अघि बढ्ने बताए । उनले भने–‘केन्द्रमा गठबन्धनको सरकार छ । विभिन्न प्रदेशमा मिलीजुली सरकार छन् । स्थानीय तहको निर्वाचनमा पनि तालमेल भएको छ । आउने निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल भैरहेको छ । तर, यो छलफलले मुर्त रुप लिन सकेको छैन् । गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने सम्भावना छ ।’