धनगढी। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज धनगढीमा भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेको बेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो। सरकारको नेतृत्व परिवर्तनबारे आइरहेका चर्चा र सुदूरपश्चिम सरकारले ल्याएको बजेटको पक्षमा बैठक केन्द्रीत भएको थियो ।
बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको बताए। तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुंग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताए । बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरु मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको एक सांसदले बताइन्। बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ। यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।
यस्तै बैठकमा आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटबारे पनि छलफल गरिएको थियो। बजेटमा भएका त्रुटीहरु संसोधन गरेर संसद् चलाउने वातावरण मिलाउन पहल गर्ने बैठकले निर्णय गरेको ती सांसदले बताइन्।शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।‘सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने बैठकले निर्णय गरेको छ। बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरुले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु बजेट पारित गर्न सहमत भएका मन्त्री मानबहादुर धामीले बताए ।असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरुले प्रदेशसभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन । अहिलेसम्म बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ ।