कैलाली। राजनीतिक रुपमा टीकापुर घटनाको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
उनले टीकापुर घटना राजनीतिक रहेको भन्दै बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई प्रमुख थारुले ज्ञापनपत्र बुझाएको बताएका छन्। राजनीतिक तवरबाट नै समाधान गर्न माग गरेका छन् । २०७२ साल भदौ ८ गते थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो।
सो घट्नामा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो। घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरीसहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन्।काठमाण्डौं पुगेर टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न माग गरेका थारु रेशमको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित भएका हुन । यसैगरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्री शर्मालाई आग्रह गरेका छन्।