कैलाली। मंगलबार रातिदेखी कैलाली,कञ्चनपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको छ। कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको र बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो। यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति नै एसएमएस पठाइएको थियो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरहेको छ। धनगढीमा आज बिहानैदेखि मेघ गर्जनसहित वर्षा भएको थियो ।
त्यस्तै, बाढी पूर्वानुमान महाशाखाका अनुसार सो क्षेत्र भएर बहने साना नदीमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बुधबार बेलुकासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।नारायणी, कर्णाली, बबई, बागमती, कोसी, गण्डकी नदीले जल सतह पार गरेको छ।