बैतडी। बैतडीको सतबाँझ क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । बैतडीको सतबाँझमा रहेको नेपाल टेलिकमको टावरले आइतबार रातिदेखि काम गर्न छोडेपछि हजारौं ग्राहक समस्यामा परेका छन् ।
सतबाँझको टावरले काम गर्न छोडेपछि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानका नागरिकलाई समस्या भएको छ । मोबाइल फोन सेवा अवरुद्ध हुँदा अतिआवश्यक सूचनाहरु समेत आदानप्रदान गर्न निकै समस्या भएको स्थानीयहरुले बताएका छन् । सतबाँझको टावरले काम गर्न छोडेको तीनदिन बितिसक्दा समेत टेलिकमले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।
सतबाँझको टावरमा बेला बेलामा समस्या आउने गरेको भएपनि समस्या समाधानमा टेलिकमको ध्यान जान सकेको छैन् । सतबाँझको टावरमा समस्या आउँदा दैनिक हजारौं ग्राहक सेवाबाट वञ्चित हुने गरेका छन् । नेपाल टेलिकमको यो बिषयमा अझै ध्यान जान नसकेको स्थानीयले आरोप लगाएका छन् । टेलिकमका इन्जिनिजयर लक्ष्मण चन्दले सतबाँझस्थित टावरमा पानी पसेर समस्या आएको र बुधबार त्यसलाई मर्मत गरिने बताए ।