कैलाली। नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।
प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो । उनको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ । ‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ पाठकले भने।
पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उनको भनाइ छ ।पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ। अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।‘रिक्त रहेको पदमा पार्टी विधानको धारा ६८ को २ बमोजिम बहालवाला उपाध्यक्षलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएर पार्टी कामलाई अगाडि बढाउन कैलाली जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ उनले भने ।उनका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरि जिल्ला अध्यक्ष चयन गरिने छ ।