धनगढी। सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाकालागि बजेट बिनियोजन गरेको पाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो।
असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेश सभामा अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए । प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा दाङको लमही नगरपालिका वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको हो।
सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा राखिएको छ। यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो। सुदूरपश्चिम प्रदेशमा बजेटको विपक्षमा अहिले सत्ता पक्ष र विपक्ष दुवै एकै ठाउँमा उभिएका छन् ।
उनीहरूले संयुक्त रूपमा बजेट संशोधन गर्नु पर्ने बताइरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि अघि बढाउने तयारी गरेको थियो । मंगलबारमात्र वार्षिक विकास पुस्तिका प्राप्त गरेका प्रदेशसभा सदस्यहरुले किताबमा त्रुटिपूर्ण ढंगले विषयहरु उल्लेख गरिएको, बजेट वितरण न्यायोचित नभएको, झ्यालबाट छिराएका योजनाहरु समेटिएको, प्रदेश सभा सदस्यहरुले माग गरेका योजनालाई लत्याइएको आरोप लगाएका छन् ।