बझाङ। बझाङको सुर्मा गाउँपालिकाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । हिमाली क्षेत्रमा डढेलो लाग्दा हावाको तापक्रम बढ्दा हिउँ पग्लिने क्रम तीव्र बनेको हो ।
जसकारण वनस्पतिविहीन हुने अवस्थामा पुगेको छ भने आहारा र बासस्थान अभावले जीवजन्तु र पन्छी लोप हुन थालेका छन्। तीन–चार दिनदेखि ठूलो डढेलोले हिउँ तातिएर हिमपहिरो गएको छ। हिमालविज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. सुदीप ठकुरीले पनि स्थानीयको भनाइमा सत्यता हुन सक्ने बताए ।
डढेलो लाग्दा हिमाली क्षेत्रमा हावाको तापक्रम बढ्ने र त्यसका कारण हिउँ पग्लिने क्रम तीव्र हुने उनको भनाइ छ । जथाभावी डढेलो लगाउँदा बझाङको हिमाली क्षेत्रको पर्यावरण र जैविक विविधता बर्सेनि नष्ट हुँदै गएको छ। डढेलोकै कारण जंगल, जडीबुटी र जीवजन्तु मात्रै सखाप भएका छैनन्, हिमालय क्षेत्रको प्राकृतिक स्रोतमा निर्भर बासिन्दाको जीवनमा पनि त्यसको प्रत्यक्ष मार परेको छ।
गत जेठ तेस्रो साता मात्रै, सुर्माका गाइसेरा, तपोवन, देलठेला, चाँदेशिखर, ब्याँसीमारे, सुनखानी, जलजलालगायत दर्जनभन्दा बढी हिमालको फेदीमा एकै पटक ठूलो डढेलो लागेको थियो। आगोले हिमाली क्षेत्रका झाडी बुट्याउन डढाउँदा आउने ‘चडचड’ आवाज दुई–तीन किलोमिटर परैसम्म प्रस्ट सुनिएको स्थानीय बताउँछन् । डढेलो लागेका ठाउँमा रहेका धुपी भुइँचिमालो, भोजपत्र, चिमालो, चाँप, लेककुयली, पङराँतो, कालोभोज, बायोजडी च्याङ्वालगायतका बोटबिरुवाका हरिया जंगल खरानी बनेका थिए । जेठमा यसरी डढेलो लागेको सुर्मामा मात्रै होइन । बझाङका अधिकांश उच्च हिमाली क्षेत्रका वन यसैगरी डढेका थिए।हिमाली क्षेत्रमा वैशाखदेखि डढेलो लाग्न थालेको हो । जब यार्चा टिप्न मानिस लेकतिर लाग्छन्, त्यसपछि ठाउँ–ठाउँमा आगो लगाउँछन्,’ साइपालका सुवास बोहराले भने, ‘यसपालि मात्रै होइन, हरेक वर्ष यस्तै हुन्छ ।’ वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीले २०२२ मे र जुन २० सम्म बझाङका ४८ स्थानमा डढेलो लागेको रेकर्ड गरेको छ । गत वर्ष यही अवधिमा बझाङका २ सय ९० स्थानमा डढेलो लागेको अनुगमन प्रणालीले अभिलेख राखेको छ । यद्यपि भूउपग्रहले जमिनबाट १ सय मिटर ग्रिडसम्मको डढेलो मात्रै पहिचान गर्न सक्छ । सानातिना, डाँडा र खोंचले छेकिएका ठाउँमा लागेको डढेलो भूउपग्रहमा रेकर्ड हुँदैनन् ।
बझाङको कुल क्षेत्रफलको करिब ३० प्रतिशत भूभाग हिमाली क्षेत्रमा पर्छ। बर्सेनि लाग्ने डढेलोले हिमाली क्षेत्र वनस्पतिविहीन हुने अवस्थामा पुगेको छ । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथि पाइने यस्ता जंगल कस्तूरी, झारल, नाउर, हिमचितुवाको बासस्थान हो । डाँफे, मुनाललगायत संरक्षित चराचुरुंगी पनि यस्तै जंगलमा आश्रित हुन्छन् । तर, पछिल्लो समय यस्ता जनावर र पन्छी लोप भइरहेका छन् । हिमाली क्षेत्रको वन र जैविक विविधता अत्यन्तै संवेदनशील भएकाले डढेलो लाग्दा अन्यत्रभन्दा गम्भीर क्षति हुने विज्ञहरूको चिन्ता छ । संकटापन्न, संकटासन्न, लोपोन्मुख र जोखिम उन्मुख धेरैजसो वनस्पति र जीव यो क्षेत्रमा पाइने भएकाले डढेलोले जैविक विविधतामा अपूरणीय क्षति हुने गरेको उनीहरूको भनाइ छ ।