बैतडी। बैतडीका २५ हजार बढी घरधुरीबाट कृषि गणना तथ्यांक लिइएको छ । जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न वडामा रहेका २५ हजार ५७१ घरधुरीबाट तथ्यांक लिइएको जिल्ला कृषि गणना अधिकृत सुरेन्द्र पन्तले बताए ।
जिल्लाका १४४ ओटा नमूना क्षेत्रमा कृषि गणना गरिएको पन्तले बताए । कृषि गणना अन्तर्गत जमीनको अवस्था, खेतीयोग्य जमीनको अवस्था, बालीनालीको अवस्था लगायतका बिषयमा तथ्यांक लिइएको छ ।
यसैगरी खेतीयोग्य जमीनमा लगाइने बालीनाली, बालीनाली लगाउन संलग्न किसानहरुको अवस्था, पशुपालन, फलफूल खेती लगायतका बिषयमा जानकारी लिइएको छ । यस्तै कोरोनाले कृषि क्षेत्रमा पारेको प्रभावका बिषयमा पनि तथ्यांक संकलन गरिएको पन्तले बताए । जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका बिषयमा पनि तथ्यांक संकलन गरिएको छ।
वैशाख ६ गतेदेखि शुरु भएको कृषि गणना जेठ १९ गते सम्म ४५ दिन चलेको थियो । कृषि गणनाका लागि जिल्लाभरी ५४ जना गणक खटाइएका थिए । गणकहरुले ल्याएको तथ्यांकलाई केन्द्रिय तथ्यांक विभागमा पठाईसकिएको जिल्ला कृषि गणना अधिकृत पन्तले बताए ।