डडेल्धुरा। डडेल्धुराका सात स्थानीय तहविरुद्ध अख्तियारमा ३५ उजुरी परेका छन्। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा ३५ उजुरी परेका हुन्।
चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म डडेल्धुराका स्थानीय तहविरुद्ध अख्तियार कार्यालयमा ३५ उजुरी दर्ता भएको आयोग कञ्चनपुरका सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। सूचना अधिकारी बस्नेतले डडेल्धुरामा आयोजित ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रद्धर्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक जिल्लास्तरीय अन्तक्रियामा सो तथ्यांक प्रस्तुत गरेका हुन्।
अनुसार गत आर्थिक वर्षबाट सरि आएका २४ र चालु आवमा दर्ता भएका ११ गरी जम्मा ३५ उजुरी परेको उनले बताए । जसमध्ये चालु आर्थिक वर्षमा १२ वटा उजुरी फछर्यौट भइसकेको र २३ उजुरी फछर्यौट हुन बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए। तीमध्ये सबैभन्दा बढी आलिताल गाउँपालिकाका ६, अजयमेरुका ५, परशुराम, अमरगढी नगरपालिकाका र नवदुर्गा गाउँपालिकाका ३–३ तथा गन्यापधुरा गाउँपालिकाका २ र भागेश्वर गाउँपालिकाका १ उजुरी फछर्यौट हुन बाँकी रहेको जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार जनप्रतिनिधि आएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उजुरी पर्ने क्रम बढिरहेको छ। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार, विकास निर्माणमा मापदण्ड विपरीत काम, कामै नभइ भुक्तानी दिएको लगायतका जस्ता उजुरी परेका छन्। अख्तियार कञ्चनपुरका प्रमुख रामबहादुर कुरूम्वाङले भने भ्रष्टाचार नियन्त्रणमा आयोग लागिपरेको दाबी गरे। उनले परेका उजुरीमाथि आयोगले गहन अनुसन्धान जारी राखेको पनि जानकारी दिएका छन्।