कञ्चनपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्षदेखि चिकित्साशात्र सुरुवात गर्ने बताएका छन् ।
शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्दै कुलपतिसमेत रहेका देउवाले चिकित्साशात्र संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनको काम अगाडी बढेको बताएका हुन् ।उनले भने, ‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइँदैछ देउवाले भने,सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ, ’विश्वविद्यालयमा हासिल गरेको ज्ञान र सिपलाई ब्यवहारिक र जिवनोपयोगी बनाउनुपर्ने बताए ।विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।यस्तै प्रधानमन्त्री देउवाले विश्वविद्यालय समयअनुसार शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ, भने, ‘आउदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु।’ उनले भने, हाम्रो देश साँस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विभिधतायुक्त तथा समृद्ध भएर पनी उपलब्ध स्रोत साधनको बुद्धिमतापुर्ण उपयोग गर्न नसक्दा बिकासको गतिमा अपेक्षित रुपमा अगाडि बढ्न सकिरहेका छैनौं । विश्वविद्यालय र शिक्षा नितीले रोजगारीका लागी विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न योजना बनाउनुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् ।
दीक्षान्त समारोहमा दिक्षित हुने एक हजार १८ विद्यार्थीमध्ये ३१८ जना सहभागी भएका थिए । स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन । समारोहमा सहभागी हुन प्रधानमन्त्री शेर बहादुर देउवा आजै नेपाली सेनाको हेलिकप्टर मार्फत महेन्द्रनगर पुगेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवासँगै , शिक्षामन्त्री देवेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका सहभागी रहेका छन ।प्रधानमन्त्री देउवाले भोलि शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको धनगढी उपमहानगरपालिकाले जानकारी गराएको छ ।