धनगढी। प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको बजेटप्रति विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री एवम् एमालेका नेता झपटबहादुर बोहराले बजेट अपारदर्शी रहेको बताए । उनले आर्थिक अनुशासनको परिधिबाहिर गएर चुनावमुखी बजेट ल्याइएको प्रतिक्रिया दिए ।
उद्योग पर्यटनले राहत पाउनुपर्ने बजेट ल्याउनुपर्नेमा त्यसो हुन नसकेको पूर्व मन्त्री बोहराले बताए । ‘बजेट गठबन्धन सरकारले ल्याएको भएपनि जुन पार्टी र मन्त्री बलियो छ, उसैले बजेट बढी पाएको देखिन्छ,’ पूर्व मन्त्री बोहराले भने, ‘बजेटमा समाजवादीले बढी भाग ओगटेको देखिन्छ भने काग्रेंस, माओवादी केन्द्रका मन्त्रीहरू निरीह देखिएका छन् ।’भौतिक पूर्वाधार मन्त्रालय एक्लैलाई झण्डै ५० प्रतिशत बजेट दिनु असन्तुलित वितरणको उदाहरण भएको उनको भनाई छ । उनले बजेटमा भएका नाराहरू हास्यास्पद भएको बताए । ओरालोमा गएको अर्थतन्त्रलाई झन् तल झार्ने बजेट ल्याइनु दुःखद रहेको उनको भनाइ छ ।
पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङले नीति तथा कार्यक्रम र बजेट वक्तव्यकाबीच केही तालमेल नदेखिएको बताए । उनले राजधानी घोषणा गरेको तीन वर्षसम्म पनि निर्माणमा बजेट नहाल्नु अनुचित भएको सुनाए । प्रदेशसभाले पारित गरेको निर्णय कार्यान्वयन गर्नु सरकारको दायित्व होइन र ? भन्ने उनले प्रश्न गरे । खप्तडको विकासका लागि स्पष्ट बजेट विनियोजन गर्नुपर्नेमा सरकारले त्यसलाई प्राथमिकतामा नराखेको देखिएको उनको भनाइ छ । ‘बजेटले सन्तुलन कायम गरेको जस्तो पनि लागेन’ पूर्व मन्त्री तामाङले भने । कैलाली बहुमुखी क्याम्पसमा अर्थशास्त्रका सहप्राध्यापक राजेन्द्रवीर चन्दले बजेट सर्वसाधारणका लागि उत्साहप्रद नरहेको बताए । उनले रोजगारी अभिवृद्धि गर्ने हरेक वर्षका बजेटमा उल्लेख हुने गरेको भएपनि ०६८ यताको दस वर्ष अवधिमा ५३ प्रतिशत युवा पलायन दर वृद्धि भइरहेको उनको भनाइ छ । ‘हरेक वर्ष उत्पादन वृद्धि गर्ने भन्दै अर्बौ बजेट विनियोजन गरिन्छ तर कृषि उपजहरूको आयात बढेको बढ्यै छ,’ चन्दले भने ‘कृषिमा विनियोजित बजेटको समीक्षा जरुरी छ ।
’ एमाले कैलाली जिल्ला अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य रतन थापाले सरकारले बुधवार प्रस्तुत गरेको बजेट व्यापारीहरूसँगको सेटिङमा आएको बताएका छन् । कमिसन लिएर योजनामा बजेट विनियोजन गरिएको सांसद थापाको आरोप छ । ‘बजेट आउनु अगावै कमिसन लिएको भन्ने बजारमा कुरा आएको थियो । बजेटको योजना र शीर्षकहरू हेर्दा हो जस्तो लागेको छ’ उनले भने । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९र८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको छ । उक्त रकममध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि बुधबार प्रस्तुत गरेको बजेटमा ‘गुरिल्ला ट्रेल’ निर्माण गर्ने योजना राखिएको छ । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारले आफ्नो कार्यकालको अन्तिम वर्षको बजेटमा पर्यटन विकासको कार्यक्रम अन्तर्गत ‘गुरिल्ला ट्रेल’ राखेको हो । बजेटमा जनयुद्धलाई गणतन्त्रको जननी भनेर उल्लेख गरिएको छ ।कान्तीपुरबाट