धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य रंगशालाका रुपमा रहेको धनगढी रगंशालामा रहेको क्रिकेट, ह्याण्डबल, भलिबल प्रशिक्षण केन्द्र भत्काएर जिल्ला खेलकुद बिकास समितिले करातेको हल बनाउन लागेको छ ।
रगंशालाको पश्चिमपट्टीको भुभागमा रहेको प्रशिक्षण स्थललाई खाली गराउन जिल्ला खेलकुद बिकास समितिले २४ घण्टे अल्टिमेटम जारी गरेको छ । सामाजिक बिकास कार्यालय कैलालीले कराते प्रशिक्षण हल बनाउन बिनियोजन गरेको ३० लाख रुपयाँले सो क्षेत्रमा हल बनाउनका लागी समितिले जमिन खाली गर्न अल्टिमेटम दिएको हो ।
बिकास समितिले अल्टिमेटम जारी गरेपनि क्रिकेट प्रशिक्षण गर्ने तथा खेलाडीहरुले भने आफुले प्रशिक्षण गर्दै आएको क्षेत्र हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । यु १९ टिमका कप्तान शेर मल्लले क्रिकेटको प्रशिक्षण स्थल मासेर अन्य खेलको प्रशिक्षण भवन बनाउनु गलत भएको बताए । प्रशिक्षण सबैले गर्न पाउनुपर्छ उनले भने “तर कुनै आफुलाई मन पर्ने खेलका लागी भवन बनाउन अरु खेललाई बाइपास गरेर हटाउन खोज्नु र अध्यक्षको बेइमानी हो सबै खेलाडीले यो रगंशालामा प्रशिक्षण गर्न पाउने अधिकार हो ।”
यस्तै खेलाडी नरी साउँदले आफुहरुले बर्षौँदेखी प्रशिक्षण गर्दै आएको क्रिकेट प्रशिक्षण केन्द्र मास्न खोज्नु गलत भएको बताए । सबै खेलाडी एउटै हुन सबैको यो रगंशालामा समान अधिकार छ उनले भने “यो रगंशालामा प्रशिक्षण सबैले गर्न पाउनुपर्छ यसरी केही खेलका प्रशिक्षार्थीहरुलाई प्रशिक्षणमा अवरोध गर्नु गलत हो हो निर्णय अध्यक्ष ज्युले सच्याउनुपर्छ ।”
रगंशालामा रहेको क्रिकेट, ह्याण्डबल, भलिबल प्रशिक्षण केन्द्र भत्काएर जिल्ला खेलकुद बिकास समितिले करातेको हल बनाउन लागेको भन्दै अन्य खेलाडीहरुले बिरोध स्वरुप प्रशिक्षार्थीहरुले कालोपट्टी बाँधेर प्रशिक्षण गरेका छन् । यस्तै ७७ जना खेलाडीहरुले सो जमिन नमास्न आग्रह गर्दै हस्ताक्षर सहित जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्रीलाई निवेदन समेत बुझाएका छन् ।
क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले खेलाडीहरुको प्रशिक्षण प्रभावित गर्ने गरी जिल्ला खेलकुद बिकास समितिले दिएको अल्टिमेटमले मर्माहित भएको बताए । रगंशालामा करातेकै हल बनाउन धेरै जग्गा छ तर क्रिकेट लगायतका अन्य प्रशिक्षण हुने क्षेत्रलाइनै मासेर करातेको हल बनाउन लाग्नु अन्य खेललाई बाइपास गर्न खोज्नु हो उनले भने “यो ठाउँमा करातेको हल बन्ने हो भने क्रिकेट, ह्याण्डबल, भलिबलका प्रशिक्षक हरुले कहाँ प्रशिक्षण गर्ने त्यो ठाउँपनि बनाइदिनुपर्छ ।”
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्रीले भने धनगढी रगंशालाको मास्टरप्लान अनुसारनै सो क्षेत्रमा कराते हल बन्न लागेको बताए । यो हल बनाउने बिषयमा टिका टिप्पणी गर्नु हुँदैन उनले भने “यसमा भवन बनाउने नाप नक्सा भइसकेको छ अन्य प्रशिक्षार्थीले ठाउँ छोडेजस्तै क्रिकेट प्रशिक्षार्थीले छोडेनन् र अल्टिमेटम दिएका हौँ ।” क्रिकेट प्रशिक्षणका लागी छुट्टै ब्यवस्था नगरेको उनले बताए ।