डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिकामा मृत फेला परेका देवर–भाउजुको शव पोष्टमार्टमका लागि जोगबुढा लगिएको छ। प्रहरी टोली घटनास्थल पुगेर रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका देवर–भाउजूको शवलाई परशुराम नगरपालिका–१२ स्थित जोगबुढा अस्पतालमा लगिएको हो।
सोमबार आलिताल–३ को कैलाश समैजेश्वर सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा देवर–भाउजूको शव फेला परेको थियो। जमिनभन्दा १०/१५ फिट अग्लो रूखमा उनीहरू झुण्डिएको अवस्थामा भेटिएको इन्सपेक्टर बडूले जानकारी दिए।घटनास्थलमा अन्य कुनै प्रमाण फेला नपरेको र पोष्टमार्टमपछि घटनाबारे थप विवरण खुल्ने इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।‘बाटो नजिकैको रुखको एकै हाङ्गामा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्,’ इन्सपेक्टर बडूले भने, अहिले शवलाई जोगबुढा अस्पताल लगिँदैछ। त्यहाँ पोष्टमार्टम हुन्छ।
घटनाबारे बाँकी अनुसन्धानबाट खुल्छ।’आलिताल गाउँपालिका–५ भावरका धनबहादुर विकको नामले चिनिने रविनकी पत्नी २५ वर्षीय पशुपति विक र उनकै सहोदर भाइ २१ वर्षीय गणेश विकको शब सोमबार मध्यान्हतिर रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो।पशुपतिका दुई छोराछोरी छन्। वनमा बाख्रा चराइरहेका गोठालाले उनीहरूलाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरी चौकी आलिताललाई खबर गरेका थिए। घटनास्थलमा डडेल्धुराबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पाल र आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की पनि पुगेका थिए।