डोटी। जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले एक कार्यक्रमका बिच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन।
गत वर्ष सुदूर पश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनाका लागि रु ८० लाख डोटी अस्पतालको लागि छुट्टाएको थियो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बिरामीको चाप बढेसँगै उपचारमा सहज पुगोस् भनेर छुट्टाइएको रकममा टेन्डर प्रक्रियाबाट ६५ लाखमा अस्पतालमा प्लान्टको स्थापना गरिएको हो ।
अक्सिजन प्लान्टको स्थापना भएसँगै अस्पतालमै अक्सिजन उत्पादन हुने भएको छ । २४ घण्टामा १४ किलोका दश ओटा सिलिन्डर भर्न सक्ने क्षमता उक्त प्लान्टको रहेको डोटी जिल्ला अस्पतालका सूचना अधिकारी अमर सिंह भाट बताए । लगत्तै अस्पतालका २५ बेडहरूमा डाइरेक्ट अक्सिजन सप्लाई गरिने उनले बताए । अक्सिजन अभावका कारण महामारीको रूपमा फैलिएको कोरोनाका कारण कैयौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोना जस्ता घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु खुसीको कुरा भएको स्थानीय अमर बहादुर साउँदले बताए ।
“कोरोना महामारीको बेला नै अक्सिजन प्लान्टको स्थापना गर्नु पर्ने थियो, साउदले भने, ढिलै भए पनि राम्रो कार्यको सुरुवात भएको छ, यो खुसीको कुरा हो । प्लान्टबाट नियमित अक्सिजन उत्पादन होस् ।” अस्पतालले धनगढी, नेपालगन्ज लगायतका ठाउँमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाद्देयता हटेको छ । जसका कारण अस्पतालले खरिद देखि लिएर ढुवानी सम्मको अक्सिजन मा गर्दै आएको खर्चमा समेत बचत भएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नीराजन श्रेष्ठले बताए । “अस्पतालले अक्सिजन सिलिन्डर खरिद गर्न धनगढी, नेपालगन्ज लगायतका ठाउँमा जानु पर्थ्यो त्यहाँ लामो समय पालोमा बस्नु पर्ने बाध्यता थियो, निमित्त मेसु श्रेष्ठले भने, अब नत पालो मा नै बस्नु पर्ने छ नत धेरै रकम नै तिर्नु पर्छ, हामीलाई सहज हुने भयो ।”अस्पतालले ७ सय देखी लिएर एक हजार सम्म रुपैयाँका दरले सिलिन्डर खरिद गर्ने गर्दथ्यो । खरिद गरिसकेपछि पनि ढुवानी गर्दा त्यतिकै खर्च लाग्ने गर्दथ्यो । अक्सिजन प्लान्टको उद्घाटन गदै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले डोटी, अछाम र बाजुरा जिल्लालाई पायक पर्ने गरी जिल्ला अस्पताल डोटीमा डाईलासिस मेसिन पनि छिट्टै जडान गरिने बताए । “सुदूरपश्चिमका डडेलधुरा अस्पताल लगायत तराईका केही अस्पतालमा डाईलासिस मेसिन जडान गरिँदै छ डोटी जिल्ला अस्पतालमा पनि किन नगर्ने भनेर मैले योजनामा राखेको छु, राज्यमन्त्री रैकाले भने, रगत फिल्टर गर्ने मेसिन अलि खर्चिलो हुने रहेछ सकेसम्म मेसिन जडानको काम यही वर्षभित्र सुरु हुने छ ।”
अति विपन्न तथा सामान्य वर्गका सेवाग्राही अस्पतालमा सेवा लिन आउने भएकाले उनीहरूको सहजताको लागि अस्पताल व्यवस्थापन समिति लागि परेको जिल्ला अस्पताल डोटी व्यवस्थापन समिति अध्यक्ष धन बहादुर नेपाली बताए । जिल्ला अस्पतालमा एउटा एम्बुलेन्स र शव वाहनको लागि पनि आफू प्रयासरत रहेको उनले बताए । “यति मात्रै होइन इन्डोस्कोपी मेसिन जडान गर्ने भनेर म प्रदेश र सघ सरकारसँग समन्वय गरिरहेको छु अध्यक्ष नेपालीले भने, यसको लागि दुई तिन दिनका भित्रै म काठमाण्डौ जाँदै छु ।”अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह, उपप्रमुख स्मृति चुनार, शिखर नगरपालिकाका पूर्व मेयर सीताराम जोशी लगायतको सहभागिता रहेको थियो ।