डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृत फेला परेका छन्। आलिताल–५ भावरका धनबहादुर विककी श्रीमति पशुपति विक र धनबहादुरका सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
आलिताल ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
उनका अनुसार घटनास्थल वडा नं. ३ मा पर्दछ। घटनाबारे बुझ्न आफू घटनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घटनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए। जिल्लाबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको बताए । घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ।