कैलाली। प्रस्तावित गेटा मेडिकल कलेजमा विशेषज्ञ सहितको सेवा संचालन गरिने भएको छ। गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाको आयोजनामा सांकेतिक विरोध स्वरुप शिविर आयोजना गर्न लागिएको हो ।
बिहान ११ बजे देखि सुरु हुने शिविरमा बिभिन्न विधाका विशेषज्ञ डाक्टरहरुले बिरामी चेकजाँच गर्ने अभियानका संयोजक लोक राज पाण्डे (आगो) ले बताएका छन। उनले उक्त अभियानकालागि अत्तरियामा रहेका पद्मा अस्पताल, अत्तरिया अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्निक, धनगढीमा रहेको माया मेट्रो अस्पतालका विशेषज्ञ डाक्टरले चेकजाँच गर्ने बताए। शिविरमा निःशुल्क औषधि पाइने जनाइएको छ।
गेटामा तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालय संचालनको माग गर्दै अत्तरिया र धनगढीमा विभिन्न संघर्षका कार्यक्रम हुँदै आएका छन । सरकारले आगामी आर्थिक बर्षमा प्रस्तावित गेटा मेडिकल कलेजलाई सेती तथा महाकाली अस्पताल संगको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गर्ने जनाएको छ । तर, यस क्षेत्रका स्थानीयले भने अन्य विश्वविद्यालय अन्तरगत नराखि गेटा मेडिकल विश्वविद्यालय बनाइनुपर्ने माग राख्दै आएका छन । आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेजका भवन निर्माणको काम थालिएको थियो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको बताएका छन्।