कैलाली। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको अध्यक्षमा ईश्वर सुनार निर्वाचित भएका छन् । शुक्रवार कैलालीको धनगढीमा सम्पन्न राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको छैठौँ महाधिवेशनको भेलाले सुनारलाई आगामी तीन वर्षका लागि पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सुनार नेकपा माओवादी केन्द्र शुक्लाफाँटाका नगर ईन्चार्ज समेत हुन् ।
ईश्वर सुनार सहित १५ सदस्यीय राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको गठन भएको छ । उपाध्यक्षमा पर्वत सुनार (हुम्ला),महिला उपाध्यक्ष कौशिल्या दमाई (डडेल्धुरा),महासचिवमा मंगल सार्की (बझाङ्ग),कोषाध्यक्षमा इन्दिरा ताम्राकार (डडेल्धुरा), सचिवमा प्रसाद नेपाली (जाजरकोट),अर्का सचिवमा डबल वि.क(बाजुरा) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा राजुराम भुल (बैतडी),रमेश कोली (बैतडी),सञ्जु नेपाली (कञ्चनपुर),टिका नेपाली( कैलाली),गोरख सार्की (डोटी),शान्ती चौधरी (सुर्खेत), मानमती वड (दार्चुला) निर्विरोध निर्वाचित भएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित भएका राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले मुक्त हलियाका सवालमा सरकार,सरोकार निकायहरुसंग वकालत एवं पैरवी गर्ने बताए । मुक्त हलियाहरुको गास,वास तथा रोजगारीका लागि आफु कटिबद्ध भएर लाग्ने र उनीहरुका हकहितका निम्ति संघ,प्रदेश र स्थानिय सरकारसंग पैरवी गर्ने बताए।साथै उनले स्थानिय सरकारले पनि मुक्त हलियाको पुनस्थापना गर्नुपर्ने औँल्याए । यसैगरी सुनारले दातृ निकायहरुलाई समेत महासंघ संग काम गर्न आग्रह गरे। स्थानिय तहहरुले बजेट ल्याउने तयारी गरिरहेका वेला मुक्त हलियाका मागहरु पनि सम्बोधन हुनुपर्नेमा उनले जोड दिएका छन् ।