कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको आकार ठूलो हुने बताएका छन्।
प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन। ‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन।
अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनले भने,‘बजेट ठूलो हुने छ। कार्यक्रममा कम बजेट पर्न सक्छ ।’ उनले संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम अनुदान पठाएको बताए । मुख्यमन्त्री भट्टले नीति तथा कार्यक्रमलाई टेकेर नै आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताए ।
उनले चार वर्षको अवधिमा थुप्रै विकास भएको बताए । ‘हिजोको तुलनामा अहिले धेरै विकास भएको छ । दुर्गम ठाउँमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा सुधार भएको छ। प्रदेश सरकारको सिमित बजेट सबै जिल्लाका दुर्गम क्षेत्रमा लगानी भएको छ’ उनले भने । उनले संघिय सरकारका कारण प्रदेश लोक सेवाका काम अघि बढाउन नसकिएको बताए। उनले राजधानीको काम पनि संघिय सरकारकै कारण अघि बढाउन नसकिएको बताए। उनले क्रमागत कार्यक्रमको उद्देश्य पुरा नहुँदा सम्म अघि बढ्ने बताए। बिहिबार नै सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको थियो।