बझाङ। बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बझाङको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।
अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा।मिलन खड्काले बताए । मंगलबार राति जिल्ला अस्पताल सिमखेतमै बच्चा जन्माएकी ऐडीको रक्तस्राव भई पाठेघर नखुम्चिएकाले तथा सास फेर्नसमेत गाह्रो भएपछि रिफर गरिएको खड्काले बताए ।