बझाङ।बझाङमा अज्ञात रोगबाट एक वर्षको अवधीमा ६ शिशुको मृत्यु भएको छ। अज्ञात रोगका कारण धमाधम शिशुको मृत्यु हुन थालेपछि जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा त्रास फैलिएको छ ।
स्थानीयका अनुसार बान्ता, पिसाब र श्वासबाट पेट्रोल, डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएपछि शिशुको मृत्यु हुने गरेको छ । यस्तै लक्षण देखिएर यही गाउँमा एक वर्षभित्र ६ शिशुले ज्यान गुमाइसकेका छन् ।‘राम्रैसँग दूध चुसिरहेको स्वस्थ बच्चा आधा घण्टापछि गम्भीर भइसकेको थियो,’ वैशाख अन्तिम साता दुईमहिने छोरो गुमाएकी प्रतिमा बोहराले भनिन्, ‘एक्कासि बान्ता गर्न थाल्यो, कोठाभरि पेट्रोलको गन्ध आएजस्तो भयो ।
बान्ता नरोकिएपछि अस्पताल लैजाने क्रममा बाटैमा प्राण गइहाल्यो ।’ सन्तोला विष्टले पनि यस्तै लक्षण देखिएपछि जन्मेको ५ दिनमै माघमा छोरो गुमाउनुपर्यो । ‘बान्ता गर्न थालेको दुई घण्टा पनि बाँचेन,’ उनले भनिन् । भण्डार गाउँकी ललिता रोकायाको तीनमहिने छोरो, रेखा विष्टको एकमहिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको उस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए ।
‘एउटै लक्षण देखिएर बच्चा मर्न थालेपछि गाउँभर त्रास फैलिएको छ,’ उनले भने । यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ ।शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी पठाइएको जिल्ला अस्पतालका डा। मिलन खड्काले बताए । ‘कुपोषण वा दूषित खानाले हो कि भनेर बुझ्न गाउँमा टोली पनि पठायौं तर केही पत्ता लाग्न सकेन,’ उनले भने । यो घटनामा विज्ञहरूबाटै अध्ययन जरुरी भएको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले यसबारे माथिल्लो निकायहरूमा जानकारी गराइसकेको बताए ।