काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवम् खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त सुवास शाहीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ । आज बुधवार खेलकुदमन्त्री गहतराजले शाहीलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ुड्रिम प्रोजेक्टु भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो। उहाँले यस रङ्गशाला निर्माणका लागि सबै राजनीतिक दलको सहयोग लिन अध्यक्ष शाहीलाई सुझाव दिँदै प्रदेश सरकारलाई यो रङ्गशाला निर्माणका लागि उपयुक्त रकम छुट्याउन आग्रहसमेत गर्नुभयो ।
नियुक्त पत्र बुझ्दै अध्यक्ष शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको काम सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आउँदो तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताउनुभयो। राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९ जारी गरेको थियो । सरकारले गएको वैशाख २६ गते फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९ राजपत्रमा प्रकाशित गरेको थियो ।
त्यो आदेशअनुसार दुई जना मनोनीत र बाँकी सात जना पदेन सदस्य रहने व्यवस्था छ । त्यस समितिलाई सोमवार बसेको मन्त्रिपरिषद्ले पूर्णता दिएको हो ।धनगढी मुख्य चौराहादेखि पाँच किलोमिटर उत्तर–पश्चिममा रहेको फाप्ला क्षेत्रको साढे ३८ बिघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुङ्गो लगाइसकेको थियो ।शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान छेडिएको थियो । गौचरणका रूपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नति गर्दै सुरुमा स्थानीय लिगहरू सञ्चालन गर्नुभएको थियो । नेपालको पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रूपमा धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजना शाहीले फाप्लामै गराएपछि भने यसले राष्ट्रियरूपमै चर्चा पाएको थियो ।