धनगढी। धनगढीबाट डोटी गइरहेको हायस डडेल्धुरामा दुर्घटना भएको छ। बुधबार धनगढीदेखि डोटी गइरहेको हायस केआइ सिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सुपप्र ०१००१ख ३१०९ नम्बरको उक्त हायस दुर्घटनामा परि ९ जना घाइते भएका छन्। घाइते ८ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र एक जनाको टाउकोमा गम्भीर चोट लागेका कारण धनगढी रेफर गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पालले बताए। तीमध्ये गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ।
ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ। हाइसमा १९ जना सवार उक्त हाइसको ब्रेक फेल भएर नरोकिएपछि हाइसमा सवार ९ जना यात्रुले हाम फालेका हुन्।अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।‘धनगढीबाट डोटीतिर गइरहेको हाइसमा ब्रेक नलागेको रहेछ। ब्रेक फेल भएको हल्ला भएपछि यात्रुहरूले आत्तिएर हाम फालेका रहेछन्। फेरि ब्रेक लागेछ,’ उनले भने, ‘अरू यात्रु र हाइसको अवस्था ठिक छ।’