डोटी। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या-पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि यसवर्ष गंगा-दशहरा मेला लागेको छ। इतिहासमा कहिल्यै नरोकिएको यो मेला कोभिड १९ का कारण ३ वर्षपछि यसवर्ष खप्तडमा यो मेला सुरु भएको हो।
कोभिडले दुई वर्ष ठप्प भएको मेला रोकिए पनि सीमित सरोकारवालाहरूको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर थियो । यसवर्ष जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा यो मेला सुरु भएको हो । यसवर्ष परम्पराअनुसार नै मेला हुनेछ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा-दशहरा’ मेला लाग्ने परम्परा छ। सोही परम्पराअनुसार मंगलबार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरूले मेला भर्न सुरु गरेका छन् ।
परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन्। पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ । यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ।
के छ खप्तड गंगा-दशहराको महत्व- प्राकृतिक रुपले निकै सुन्दर र मनमोहक खप्तड धार्मिक हिसाबले महत्वपूर्ण तीर्थस्थल हो । मध्य पहाडी क्षेत्रको निकै उचाइमा रहेको खप्तडमा देवदेवीहरूको बास रहँदै आएको जानकारहरूको दाबी छ । समुन्द्र सतहदेखि करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको संगम बनेको त्रिवेणी छ । सहश्रलिङ्गबाट बगेर आउने सोलिङ खोला ९गंगा०, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला ९यमुना० र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ । यही त्रिवेणीधाममा मनकामना मन्दिर छ । जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र वसाहका मूर्ति छन् । स्कन्द पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोहीअनुसार यस क्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्दछन् । यसरी तर्पणको सबैभन्दा पवित्र समयका रुपमा गंगा-दशहरा मेलालाई लिइन्छ । यो समयमा नवमीमा मेला भरेर रातभर जाग्राम बस्दै शीत खाएर दशमीको दिन त्रिवेणीमा स्नान गरेर पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठूलो पुण्य पाइने र पितृहरुको वैकुण्ठबास हुने मान्यता छ । यसैकारण खप्तड त्रिवेणीमा परापूर्वकालदेखि नै गंगा–दशहरा मेला लाग्दै आएको खप्तड मध्यवर्ती क्षेत्रमा पर्ने डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन् ।‘यो अचेल सुरु भएको मेला होइन’, अध्यक्ष उपाध्याय भन्छन्, ‘यहाँ यसैगरी खप्तडसँग जोडिएका चार जिल्ला र आसपासका क्षेत्रका बासिन्दाले परापूर्वकालदेखि नै मेला भर्छन् । यहाँका बासिन्दाको यो परम्परादेखिकै एकमात्र ठूलो तीर्थ हो ।’
तीनवर्षपछिको मेलामा उत्साह- कोरोनाले २ वर्ष रोकिएको खप्तड गंगा-दशहरा मेला यस वर्ष सुरु भएपछि धार्मिक आस्था बोक्नेहरू उत्साहित भएका छन्। ‘आस्थाका हिसाबले हरेक वर्ष खप्तड भ्रमण गर्नेहरूका लागि दुईवर्ष हुन नसकेको मेला तेस्रो वर्ष हुने भएपछि निश्चय नै उत्साहजनक हुने भयो’, डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खड्का भन्छन् ।उनले विगतभन्दा यसवर्ष खप्तडमा उल्लेख्य भीड लागिरहेको जानकारी दिए । ‘स्थानीयको भीडभाड त थामिनसक्नु नै भइसक्यो । देशको आन्तरिक र बाह्य क्षेत्रका पर्यटकको आगमन पनि यसपटक बढी छ’, उनले थपे ।
खप्तड घुमघामको उत्कृष्ट समय- गंगा-दशहरा मेला धार्मिक आस्था बोक्नेहरूका लागि निकै महत्वपूर्ण मानिन्छ, जुन जेठमै पर्छ । यो मेला आस्तिकहरूका लागि जति महत्वपूर्ण छ, त्यत्तिकै खप्तड घुम्न चाहनेका लागि वैशाख-जेठ महिना मौसम मानिन्छ । खप्तड पर्यावरणीय सुन्दरतामा नेपालकै अब्बल गन्तव्य मानिन्छ । सरकारले यसलाई राष्ट्रिय निकुञ्ज बनाएर संरक्षण गरेको छ । पछिल्लो समय खप्तड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र पनि बनेको छ । खप्तडमा असारबाट भारी वर्षा हुन्छ । वर्षा लगभग कार्तिकसम्मै रहने जानकारहरू बताउँछन् । त्यसपछि हिउँ पर्छ । जुन झण्डै चैत मसान्तसम्म रहन्छ । यो समय पनि खप्तड भ्रमणको लागि उपयुक्त मानिँदैन । मौसमका हिसाबले बैशाख-जेठ खप्तड भ्रमण गर्ने उत्कृष्ट समय हो । तर, हिउँमा भ्रमण गर्न चाहनेका लागि हिउँदे समय र वर्षाको वन्यजीवन, फूलहरूको रंगीचंगी सुन्दरता र पर्यावरणीय सुन्दरता हेर्न चाहनेका लागि वर्षाको समय पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यस्ता दृश्य हेर्ने पर्यटकहरू सोही सिजन पारेर आउने होटल तथा पर्यटन व्यवसायी दीपकबहादुर खड्का बताउँछन् । ‘वैशाख-जेठ सबैखाले पर्यटकका लागि उपयुक्त छ । सहज पनि हुन्छ’, उनले भने, ‘तर, एडभेन्चर अनुभव गर्न चाहने र साविकभन्दा भिन्नै किसिमको आनन्द लिन चाहनेका लागि आफ्नो रोजाइअनुसारको मौसम छनोट गर्न सकिन्छ । जुन पर्यटकहरूले गर्दै आएका पनि छन् ।’
मेलाका अवसरमा म्याराथन प्रतियोगिता- खप्तड गंगा–दशहरा मेलाकै अवसरमा खप्तडमा यसपटक बृहत प्रतियोगितात्मक कार्यक्रमहरू पनि भइरहेका छन् । मेलाका अवसरमा डोटी उद्योग वाणिज्य संघको अगुवाइमा विगतदेखि नै विविध कार्यक्रम भइरहेको छ । यसपटक नेपाली सेनाको श्री भैरवप्रसाद गण सिलगढी र श्री नं ५ बाहिनी अड्डा राजपुरले पनि सहयोगी भूमिका निर्वाह गर्दैछन् । यसपटक विशिष्ट प्रतियोगिताका रुपमा म्याराथन प्रतियोगिता राखिएको छ । ‘सुन्दर सुदूरपश्चिम खप्तड-शैलेश्वरी म्याराथन २०७९’ नाममा यो प्रतियोगिता आयोजना गरिँदै छ । म्याराथनमा ४० जना प्रतियोगी र अन्य ८० जना गरेर १२० जना सहभागी हुने डोटी उद्योग वाणिज्य संघले जनाएको छ । म्याराथन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट दुईरदुई जना र मध्यवर्ती क्षेत्रका दुई जना गरी २० जना सहभागी हुनेछन् । यस्तै नेपाली सेनाको विभिन्न गुल्म तथा गणबाट २० जना प्रतियोगी सहभागी हुने भैरवगप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । म्याराथनसँगै खप्तडमा भलिबल, डेउडा गीत प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने आयोजक संस्थाहरूले जनाएका छन् ।